११ असार, काठमाडौं । दक्षिण अफ्रिकाले फिफा विश्वकप २०२६ मा नयाँ इतिहास रच्दै पहिलोपटक नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। समूह ‘ए’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा दक्षिण कोरियालाई १–० गोलअन्तरले पराजित गर्दै दक्षिण अफ्रिकाले अन्तिम ३२ टोलीभित्र स्थान बनाएको हो।
दक्षिण अफ्रिकाको जितमा थापेलो मासेको नायक बने। उनले खेलको ६३औँ मिनेटमा गरेको एकमात्र गोल नै टोलीको जितका लागि निर्णायक साबित भयो।
विश्वकपमा चौथोपटक सहभागिता जनाएको दक्षिण अफ्रिकाले यसअघि सन् १९९८, २००२ र २०१० संस्करणमा समूह चरण पार गर्न सकेको थिएन। तर यसपटक उत्कृष्ट प्रदर्शन गर्दै उसले पहिलोपटक नकआउट यात्राको ढोका खोलेको छ।
तीन खेलबाट चार अंक संकलन गरेको दक्षिण अफ्रिका समूह उपविजेताका रूपमा अघिल्लो चरणमा पुगेको हो। सहआयोजक मेक्सिकोले लगातार तीनै खेल जित्दै नौ अंकका साथ समूह विजेताको रूपमा नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको छ।
यता, तीन अंकसहित तेस्रो स्थानमा रहेको दक्षिण कोरियाको नकआउट सम्भावना भने अझै जीवित छ। उत्कृष्ट तेस्रो स्थानमा रहने आठ टोलीमध्ये पर्न सके दक्षिण कोरिया पनि अघिल्लो चरणमा पुग्न सक्छ। त्यसका लागि उसले अन्य समूहका नतिजाको प्रतीक्षा गर्नुपर्नेछ।
समूहको पुछारमा रहेको चेक गणतन्त्र भने तीन खेलबाट केवल एक अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ।
(तस्बिर स्रोत: द गार्जियन)




