काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत शुक्रबार पदाधिकारी चयनका लागि निर्वाचन हुँदैछ। महाधिवेशनअन्तर्गत पार्टीका विभिन्न पदमा नेतृत्व चयन गर्न मतदानको तयारी पूरा भएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम उम्मेदवारको नामावलीअनुसार महिला उपसभापति पदका लागि सोविता गौतम र तोसिमा कार्की आमनेसामने भएका छन्। दुवै नेतृबीच हुने प्रतिस्पर्धालाई महाधिवेशनको मुख्य आकर्षणका रूपमा हेरिएको छ।
पुरुष उपसभापति पदमा भने डा. स्वर्णिम वाग्ले को मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका छन्।
त्यसैगरी, एक पदका लागि हुने महामन्त्री निर्वाचनमा १० जनाले उम्मेदवारी दिएका छन्। सह–महामन्त्री (खुला) तर्फ दुई पदका लागि ११ जना प्रतिस्पर्धामा उत्रिएका छन् भने सह–महामन्त्री (महिला) तर्फ एक पदका लागि पाँच जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ।
रास्वपाको पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भएकाले पदाधिकारी निर्वाचनलाई पार्टीको भावी दिशा र संगठनात्मक संरचना निर्धारण गर्ने महत्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको छ। मतदान सम्पन्न भएपछि मतगणना गरी अन्तिम परिणाम सार्वजनिक गरिने निर्वाचन कार्यतालिका रहेको छ।




