लगातार दोस्रो दिन पनि प्रतिनिधिसभा बैठक स्थगित, महत्त्वपूर्ण विधेयकहरू रोकिए

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार दिउँसो १ बजे बस्ने तय गरिएको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको छ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक स्थगित गरेका हुन्।

अब प्रतिनिधिसभाको अर्को बैठक शनिबार बिहान ११ बजे बस्ने गरी समय निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ।

यसअघि बिहीबारका लागि तय गरिएको बैठक पनि विशेष कारण जनाउँदै सूचना टाँसेर स्थगित गरिएको थियो। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश सांसद महाधिवेशनका लागि चितवनमा रहेकाले संसद्को नियमित कार्य प्रभावित भएको बताइएको छ।

आजको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले महालेखापरीक्षकको बासट्ठीऔँ वार्षिक प्रतिवेदन, २०८३ पेश गर्ने कार्यसूची रहेको थियो।

त्यसैगरी सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि छलफल हुने कार्यसूची पनि प्रभावित भएको छ।

यस्तै आर्थिक विधेयक, २०८३ माथि संशोधनसहित छलफल तथा निर्णय गर्ने कार्यक्रम रहेको थियो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो।

यसका साथै राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि दफाबार छलफल, संशोधनमाथि निर्णय तथा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि बैठक स्थगित भएसँगै रोकिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर