आगामी तीन दिन देशभर वर्षा बढ्ने, कोशी र मधेसमा भारी वर्षाको चेतावनी

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभर वर्षाको गतिविधि उल्लेखनीय रूपमा बढ्ने पूर्वानुमान गर्दै विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

शनिबार राति सार्वजनिक गरिएको विशेष बुलेटिनअनुसार आइतबारदेखि वर्षा क्रमशः तीव्र हुँदै सोमबारसम्म देशका अधिकांश क्षेत्रमा प्रभाव पार्नेछ। विशेषगरी सोमबार राति कोशी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै मधेस प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

वर्षासँगै देशका विभिन्न क्षेत्रमा हावाहुरीको जोखिमसमेत रहने भएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका साथै मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको जनाइएको छ।

महाशाखाले निरन्तरको वर्षा र हावाहुरीका कारण बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्न सक्ने भएकाले विभागबाट जारी हुने पछिल्ला मौसमसम्बन्धी सूचना नियमित रूपमा अवलोकन गर्न सबैलाई अनुरोध गरेको छ। साथै प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात, साथै कृषि क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाएर मात्रै यात्रा तथा अन्य कार्य गर्न आग्रह गरिएको छ।

यस वर्ष नेपालमा मनसुन औसत समयभन्दा तीन दिनअघि नै भित्रिएको थियो। जेठ २८ गते कोशी प्रदेश हुँदै नेपाल प्रवेश गरेको मनसुन हाल देशभर सक्रिय रहेको छ। सामान्यतया नेपालमा मनसुन जुन १३ मा सुरु भई अक्टोबर २ सम्म रहने भए पनि यस वर्ष चाँडै सुरु भएको मनसुनका कारण देशभर वर्षाको प्रभाव देखिन थालेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर