विश्वकप २०२६ : नकआउट चरणको पूरा समीकरण सार्वजनिक, कुन महादेशका कति टोली अन्तिम ३२ मा?

काठमाडौं, १४ असार – उत्तर अमेरिका (अमेरिका, मेक्सिको र क्यानडा) मा जारी फिफा विश्वकप २०२६ को समूह चरण सम्पन्न भएसँगै अन्तिम ३२ टोलीको टुङ्गो लागेको छ। आइतबार बिहान अर्जेन्टिना–जोर्डन तथा अस्ट्रिया–अल्जेरियाबीचका खेल सकिएपछि नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको हो।

पहिलो पटक ४८ टोली सहभागी भएको विश्वकपमा समूह चरणअन्तर्गत कुल ७२ खेल सम्पन्न भए। १२ समूहका विजेता र उपविजेता गरी २४ टोलीसँगै उत्कृष्ट तेस्रो स्थानमा रहेका ८ टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरेका हुन्।

यस संस्करणमा पहिलो पटक समावेश गरिएको राउण्ड अफ ३२ बाट अब प्रत्येक खेल ‘गर या मर’ को अवस्थामा हुनेछ। पराजित टोलीको यात्रा यही चरणबाट समाप्त हुनेछ भने विजेता टोली अन्तिम १६ मा प्रवेश गर्नेछ।

दाबेदार टोलीहरू सुरक्षित, उरुग्वे भने समूह चरणमै बाहिरियो

साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स, ब्राजिल, स्पेन, जर्मनी, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल लगायत उपाधि दाबेदार टोलीहरूले नकआउट चरणमा सहज स्थान बनाए।

तर दुई पटकको विश्व विजेता उरुग्वे भने जितविहीन रहँदै समूह चरणबाटै बाहिरियो। सन् १९३० र १९५० को विश्वविजेता उरुग्वेले तीन खेलबाट दुई अंक मात्र जोड्न सक्यो।

आयोजक राष्ट्रहरूको सफल यात्रा

तीनै सहआयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानडा नकआउट चरणमा प्रवेश गर्न सफल भएका छन्। विशेषगरी क्यानडाले घरेलु मैदानमा पहिलो पटक विश्वकपमा जित, अंक र नकआउट चरणको यात्रा तय गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

डेब्युटेन्टमध्ये केप भर्डेले रच्यो इतिहास

विश्वकपमा पहिलो पटक सहभागी चार टोलीमध्ये केप भर्डेले मात्र नकआउट चरणमा स्थान बनायो। कुरासाओ, उज्वेकिस्तान र जोर्डन भने समूह चरणबाटै बाहिरिए।

पुनरागमन गरेका नर्वे, बोस्निया एण्ड हर्जगोभिना तथा दक्षिण अफ्रिकाले पनि उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेका छन्।

महादेशगत रूपमा युरोप र अफ्रिकाको दबदबा

टिम संख्या विस्तारसँगै यस संस्करणमा विभिन्न महादेशको प्रतिनिधित्व बढेको थियो। नकआउट चरणमा भने युरोप र अफ्रिकी टोलीहरूले प्रभावशाली उपस्थिति जनाएका छन्।

महादेश अनुसार नकआउट चरणमा पुगेका टोलीहरू :

  • युरोप : १३ टोली
  • अफ्रिका : ९ टोली
  • दक्षिण अमेरिका : ५ टोली
  • उत्तर अमेरिका : ३ टोली
  • एसिया : २ टोली

अफ्रिकाबाट ट्युनिसिया बाहेक सबै टोली नकआउट चरणमा पुगे भने एसियाबाट जापान र अस्ट्रेलिया मात्र अन्तिम ३२ मा पुग्न सफल भए। इरान, दक्षिण कोरिया र अन्य एसियाली टोलीहरू समूह चरणमै रोकिए।

समूहअनुसार नकआउटमा पुगेका टोलीहरू

समूह ए : मेक्सिको, दक्षिण अफ्रिका

समूह बी : स्विट्जरल्यान्ड, क्यानडा, बोस्निया एण्ड हर्जगोभिना

समूह सी : ब्राजिल, मोरक्को

समूह डी : अमेरिका, अस्ट्रेलिया, पाराग्वे

समूह इ : जर्मनी, आइभरी कोस्ट, इक्वेडर

समूह एफ : नेदरल्यान्ड्स, जापान, स्वीडेन

समूह जी : बेल्जियम, इजिप्ट

समूह एच : स्पेन, केप भर्डे

समूह आइ : फ्रान्स, नर्वे, सेनेगल

समूह जे : अर्जेन्टिना, अस्ट्रिया, अल्जेरिया

समूह के : पोर्चुगल, कोलम्बिया, डीआर कंगो

समूह एल : इंग्ल्यान्ड, क्रोएसिया, घाना

राउण्ड अफ ३२ को खेल तालिका

असार १५ (जुन २९)

  • दक्षिण अफ्रिका विरुद्ध क्यानडा — बिहान १२:४५ बजे
  • ब्राजिल विरुद्ध जापान — राति १०:४५ बजे

असार १६ (जुन ३०)

  • जर्मनी विरुद्ध पाराग्वे — बिहान २:१५ बजे
  • नेदरल्यान्ड्स विरुद्ध मोरक्को — बिहान ६:४५ बजे
  • आइभरी कोस्ट विरुद्ध नर्वे — राति १०:४५ बजे

असार १७ (जुलाई १)

  • फ्रान्स विरुद्ध स्वीडेन — बिहान २:४५ बजे
  • मेक्सिको विरुद्ध इक्वेडर — बिहान ६:४५ बजे
  • इंग्ल्यान्ड विरुद्ध डीआर कंगो — राति ९:४५ बजे

असार १८ (जुलाई २)

  • बेल्जियम विरुद्ध सेनेगल — बिहान १:४५ बजे
  • अमेरिका विरुद्ध बोस्निया एण्ड हर्जगोभिना — बिहान ५:४५ बजे

असार १९ (जुलाई ३)

  • स्पेन विरुद्ध अस्ट्रिया — बिहान १२:४५ बजे
  • पोर्चुगल विरुद्ध क्रोएसिया — बिहान ४:४५ बजे
  • स्विट्जरल्यान्ड विरुद्ध अल्जेरिया — बिहान ८:४५ बजे
  • अस्ट्रेलिया विरुद्ध इजिप्ट — राति ११:४५ बजे

असार २० (जुलाई ४)

  • अर्जेन्टिना विरुद्ध केप भर्डे — बिहान ३:४५ बजे
  • कोलम्बिया विरुद्ध घाना — बिहान ७:१५ बजे

 

प्रतिक्रिया
सम्बन्धित खबर