अमेरिका–इरान वार्ता भोलि दोहामा, तनाव घटाउने र सम्झौता अघि बढाउने विषयमा छलफल हुने

दोहा । अमेरिका र इरानबीच बढ्दो तनावका बीच दुवै देशका प्रतिनिधिबीच मंगलबार कतारको राजधानी दोहामा बैठक हुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अनुरोधमा बैठक तय भएको जानकारी दिएका छन्।

सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत ट्रम्पले इरानले दोहामा वार्ताको प्रस्ताव गरेको र त्यसअनुसार मंगलबार छलफल हुने बताएका हुन्।

यसअघि एक अमेरिकी अधिकारीले अमेरिका र इरान तत्काल एकअर्कामाथि थप आक्रमण नगर्ने तथा कूटनीतिक वार्तालाई निरन्तरता दिने विषयमा सहमत भएको जानकारी दिएका थिए।

बीबीसी फारसीका अनुसार ती अधिकारीले एएफपीलाई पठाएको इमेलमा दुवै पक्षबीच सम्झौतासम्बन्धी प्राविधिक छलफल जारी रहने उल्लेख गरेका छन्। साथै, तत्काल तनाव नबढाउने र समुद्री मार्गबाट जहाजहरूको स्वतन्त्र आवतजावत सुनिश्चित गर्ने विषयमा पनि सहमति भएको जनाइएको छ।

हालैका सैन्य आक्रमणपछि अमेरिका र इरानबीचको सम्बन्ध थप तनावपूर्ण बनेको छ। यस्तो अवस्थामा दोहामा हुने बैठकलाई तनाव कम गर्ने र कूटनीतिक संवादलाई पुनः गति दिने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर