इन्धनमा ठूलो राहत : पेट्रोल २०, डिजेल ३० र ग्यास १०० रुपैयाँले सस्तियो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय कटौती गरेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपछि निगमले बुधबार राति १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, आन्तरिक हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो।

निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ तथा आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो। साथै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ।

नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो। आईओसीबाट पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेलमा २९ रुपैयाँ ४६ पैसा, आन्तरिक हवाई इन्धनमा २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासको खरिद मूल्य पनि घटेर आएको थियो।

यस मूल्य समायोजनसँगै यातायात क्षेत्र, उद्योग–व्यवसाय तथा आम उपभोक्ताले राहत महसुस गर्ने अपेक्षा गरिएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटको प्रभाव नेपाली बजारमा पनि देखिएको हो।

प्रतिक्रिया
सम्बन्धित खबर