पेरिस । युरोपका विभिन्न देशमा जारी गर्मीका कारण मृत्यु हुनेको संख्या अस्वाभाविक रूपमा बढ्दै गएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससका अनुसार जुन २१ यता उच्च तापक्रमसँग सम्बन्धित कम्तीमा १,३०० अतिरिक्त मृत्यु दर्ता भएका छन्।
डा. टेड्रोसले गर्मीजन्य स्वास्थ्य जोखिमलाई ‘साइलेन्ट किलर’को संज्ञा दिँदै युरोपका अधिकांश घर, कार्यस्थल तथा विद्यालयहरू यति उच्च तापक्रम सामना गर्न उपयुक्त रूपमा निर्माण नगरिएकाले जोखिम झन् बढेको बताए।
यस भीषण गर्मीबाट सबैभन्दा बढी प्रभावित मुलुकमध्ये फ्रान्स एक हो। फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारदेखि तीन दिनको अवधिमा अपेक्षितभन्दा करिब १,००० बढी मृत्यु दर्ता भएका छन्। गर्मी सुरु हुनुअघि अप्रिल र मे महिनामा दैनिक ९०० देखि १,००० जनाको मृत्यु हुने गरेकोमा, अत्यधिक गर्मीका क्रममा जुन २५ र २६ मा दैनिक मृत्यु संख्या १,४०० नाघेको थियो। अधिकारीहरूले घर तथा हेरचाह केन्द्रमा भएका सबै मृत्युको विवरण अझै संकलन भइरहेकाले वास्तविक संख्या अझ बढी हुन सक्ने बताएका छन्।
उता, जर्मनीको पूर्वी क्षेत्रमा तापक्रम ४१.७ डिग्री सेल्सियस पुगेको छ, जुन त्यहाँको नयाँ उच्च रेकर्ड हो। चेक गणतन्त्रको राजधानी प्रागको उत्तरस्थित डोक्सानी क्षेत्रमा ४१.१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ भने पोल्यान्डमा पनि तापक्रम ४०.५ डिग्री सेल्सियस पुगेर नयाँ रेकर्ड कायम भएको छ।
अत्यधिक गर्मीकै कारण नेदरल्यान्ड्समा आयोजना हुने एक संगीत महोत्सव स्थगित गरिएको छ। फ्रान्सको राजधानी पेरिसमा पनि स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सार्वजनिक स्थानमा मदिरा सेवनमा अस्थायी प्रतिबन्ध लगाइएको थियो। साथै, अत्यधिक गर्मीका कारण आयोजना हुने तय भएको प्राइड मार्चसमेत रद्द गरिएको अधिकारीहरूले जनाएका छन्।




