काठमाडौँ, १८ असार । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्याको बदला अवश्य लिइने घोषणा गरेको छ।
परिषद्का सचिव मोहम्मद बाकर जोलकद्रले जारी गरेको सन्देशमा खामेनीको हत्या गर्नेहरूमाथि उचित समयमा प्रतिशोध लिइने स्पष्ट उल्लेख गरिएको छ। उक्त सन्देश इरानी सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका छन् भने बीबीसीका अनुसार यो सन्देश सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत पनि सार्वजनिक गरिएको हो।
बीबीसीका अनुसार खामेनीको २८ फेब्रुअरी २०२६ मा इरानमाथि भएको अमेरिकी आक्रमणका क्रममा मृत्यु भएको थियो। उक्त आक्रमणलाई अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको पहिलो सैन्य आक्रमणका रूपमा उल्लेख गरिएको छ। सो आक्रमणमा खामेनीसँगै इरानका उच्चपदस्थ अधिकारीहरू तथा उनका परिवारका केही सदस्यको पनि मृत्यु भएको थियो।
खामेनीको अन्तिम संस्कार कार्यक्रम आगामी ४ देखि ८ जुलाईसम्म तेहरान, कोम र मशहदमा आयोजना गरिने जनाइएको छ।
यसका साथै इराकका बगदाद, काजिमैन, कर्बला र नजफमा पनि शोकसभा आयोजना गरिने बीबीसीले जनाएको छ।
(समाचार स्रोत: तेहरानटाइम्स)




