काठमाडौं । रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभमा ब्यालिस्टिक मिसाइल र ड्रोनमार्फत व्यापक आक्रमण गरेको छ। आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रूसले सुरुमा ड्रोनमार्फत आक्रमण गरेको थियो। त्यसलगत्तै ब्यालिस्टिक मिसाइल प्रहार भएपछि किभका विभिन्न क्षेत्रमा शक्तिशाली विस्फोट भएका थिए। आक्रमणका कारण आवासीय भवनहरूमा आगलागी हुनुका साथै एउटा नौतले भवनको केही भाग भत्किएको बताइएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणअघि नै रूसले ठूलो स्तरको हमला गर्न सक्ने गुप्तचर सूचना प्राप्त भएको भन्दै नागरिकहरूलाई साइरनलाई गम्भीरतापूर्वक लिन र सुरक्षित स्थानमा जान आग्रह गरेका थिए।
साइरन बज्न थालेपछि हजारौं किभवासी स्लिपिङ ब्याग, पाल र घरपालुवा जनावरसहित भूमिगत मेट्रो स्टेसनमा आश्रय लिन पुगेका थिए। सम्भावित आक्रमणको त्रासका कारण धेरैले रातभर मेट्रो स्टेसनमै बिताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
किभका मेयर भिताली क्लिच्कोका अनुसार एकैसाथ गरिएको मिसाइल र ड्रोन आक्रमणबाट शहरका विभिन्न आवासीय भवनमा क्षति पुगेको छ। आगलागीका घटनासमेत भएका छन् भने घाइतेमध्ये ११ जनालाई अस्पताल भर्ना गरिएको छ।
उनका अनुसार नौतले आवासीय भवनको एक भाग भत्किँदा केही मानिस भवनभित्रै फसेका थिए। उनीहरूको उद्धारका लागि उद्धारकर्मी परिचालन गरिएको छ। साथै, एम्बुलेन्स सेवाको एक केन्द्रमा पनि आक्रमण हुँदा केही स्वास्थ्यकर्मी घाइते भएका छन्।
आक्रमणका क्रममा किभभर लगातार विस्फोटका आवाज सुनिएका थिए। सुरुमा युक्रेनको हवाई प्रतिरक्षा प्रणालीले ड्रोनहरू रोक्ने प्रयास गरे पनि त्यसपछि प्रहार गरिएका ब्यालिस्टिक मिसाइलका विस्फोटले राजधानीका विभिन्न क्षेत्र प्रभावित भएका थिए। होटल, आवासीय भवन तथा अन्य संरचनामा आगलागी भएको अधिकारीहरूले बताएका छन्।
यो आक्रमण युक्रेनले पछिल्ला साताहरूमा रूसभित्र लामो दूरीका ड्रोन आक्रमण तीव्र बनाएपछि भएको हो। राष्ट्रपति जेलेन्स्कीले रूसको ऊर्जा पूर्वाधारलाई लक्ष्य बनाइएका यस्ता आक्रमणलाई मस्कोलाई युद्ध अन्त्य गर्न दबाब दिने रणनीतिको हिस्सा बताउँदै आएका छन्।
गत साता मात्रै रूसले आफ्ना १२ क्षेत्रमा युक्रेनले प्रहार गरेका ६६० वटा ड्रोन खसालिएको दाबी गरेको थियो। सन् २०२२ मा पूर्णस्तरको युद्ध सुरु भएयताकै यो सबैभन्दा ठूलो युक्रेनी ड्रोन आक्रमणमध्ये एक मानिएको छ।
यसअघि जुन महिनाको सुरुतिर पनि रूसले किभको केन्द्र क्षेत्रमा गरेको आक्रमणका क्रममा युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत किभ पेचेर्स्क लाव्रा विहार परिसरमा आगलागी भएको थियो।
रूस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाले कूटनीतिक पहल गरिरहेको भए पनि पछिल्लो समय मध्यपूर्वको तनाव र इरानसँगको वार्तामा केन्द्रित हुनुपरेकाले उक्त प्रयास प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन।
(समाचार स्रोत: अलजजीरा समाचार एजेन्सी)




