काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको दोस्रो अधिवेशनअन्तर्गत बैठक संख्या ३० आज (असार १८ गते, बिहीबार) बिहान ११ बजे बस्ने भएको छ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूचीअनुसार आजको बैठकमा सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ), सहकारी तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित महत्त्वपूर्ण विधेयकहरू अघि बढाइनेछ।
बैठकको प्रारम्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र सभामुखले सदनमा पढेर सुनाउने कार्यसूची रहेको छ।
त्यसपछि प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेछिन्। उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने र अन्त्यमा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि सदनमा पेश गरिनेछ।
यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव राख्नेछन्। संशोधनहरू निर्णयार्थ प्रस्तुत गरेपछि उक्त विधेयक पारितका लागि पनि प्रस्ताव पेश गरिने कार्यसूचीमा उल्लेख छ।
यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीका तर्फबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल, संशोधनमाथि निर्णय र अन्तिम रूपमा पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ।
बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलका तर्फबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ माथि पनि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ। संशोधनमाथि निर्णय गरी विधेयक पारित गर्ने कार्यसूचीसमेत तय गरिएको छ।
आजको प्रतिनिधिसभा बैठकमा सार्वजनिक सेवा प्रवाह, आर्थिक पारदर्शिता, सहकारी क्षेत्रको सुधार तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कानुनी व्यवस्थालाई थप प्रभावकारी बनाउने उद्देश्यका महत्त्वपूर्ण चार विधेयकलाई अन्तिम टुंगो लगाउने तयारी गरिएको संसद् सचिवालयको कार्यसूचीमा उल्लेख गरिएको छ।




