२० असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउण्ड अफ ३२ का सबै खेल सम्पन्न भएसँगै अन्तिम १६ (प्रि-क्वार्टरफाइनल) को समीकरण पूरा भएको छ। अन्तिम १६ मा युरोपेली टोलीहरूको सर्वाधिक उपस्थिति देखिएको छ भने अफ्रिकाबाट दुई टोली मात्र अघि बढ्न सफल भएका छन्। एसियाली टोली भने सबै प्रतियोगिताबाट बाहिरिएका छन्।
राउण्ड अफ ३२ मा अफ्रिकाका ९ टोलीले प्रतिस्पर्धा गरेका थिए। तीमध्ये ७ टोली पराजित हुँदै घर फर्किएका छन् भने मोरक्को र इजिप्ट मात्र अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन्।
एसियाबाट जापान र एसियाली छनोटमार्फत विश्वकप पुगेको अस्ट्रेलिया अन्तिम ३२ मा पुगेका थिए। तर दुवै टोली आफ्नो पहिलो नकआउट खेलमै पराजित भएपछि विश्वकपमा एसियाको चुनौती समाप्त भएको छ।
युरोपबाट सर्वाधिक ७ टोली अन्तिम १६ मा पुगेका छन्। साविक उपविजेता फ्रान्स, पूर्वविश्वविजेता स्पेन र इङ्ग्ल्यान्ड, साथै बेल्जियम, पोर्चुगल, नर्वे र स्विट्जरल्यान्ड ले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्।
दक्षिण अमेरिकाबाट साविक विश्वविजेता अर्जेन्टिना, ब्राजिल, कोलम्बिया र पाराग्वे गरी चार टोलीले अन्तिम १६ मा स्थान बनाएका छन्। राउण्ड अफ ३२ सम्म पुगेका दक्षिण अमेरिकी टोलीमध्ये इक्वेडर मात्र अघि बढ्न असफल रह्यो।
उत्तर अमेरिकाबाट आयोजकमध्ये अमेरिका, मेक्सिको र क्यानडा तीनै टोलीले जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएका छन्।
अन्तिम १६ को खेल तालिका
असार २० गते
- क्यानडा – मोरक्को (राति १०:४५ बजे)
असार २१ गते
- पाराग्वे – फ्रान्स (बिहान २:४५ बजे)
असार २२ गते
- ब्राजिल – नर्वे (बिहान १:४५ बजे)
- मेक्सिको – इङ्ग्ल्यान्ड (बिहान ५:४५ बजे)
असार २३ गते
- पोर्चुगल – स्पेन (राति १२:४५ बजे)
- अमेरिका – बेल्जियम (बिहान ५:४५ बजे)
- अर्जेन्टिना – इजिप्ट (राति ९:४५ बजे)
असार २४ गते
- स्विट्जरल्यान्ड – कोलम्बिया (बिहान १:४५ बजे)
विश्वकप उपाधि होड थप रोमाञ्चक बन्दै गएको अवस्थामा अन्तिम १६ का यी खेलहरूले क्वार्टरफाइनल पुग्ने टोलीहरूको टुंगो लगाउनेछन्।




