२२ असार, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्न र समसामयिक विषयमा सरकारले समयमै स्पष्ट जवाफ दिन निर्देशन दिएका छन्। साथै, मनसुनजन्य विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले गरेका तयारी र भावी कार्ययोजनाबारे संसदलाई जानकारी गराउन पनि उनले सरकारलाई निर्देशन दिएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अर्यालले सांसदहरूले आकस्मिक र शून्य समयमा उठाएका विषय जनचासोसँग प्रत्यक्ष रूपमा जोडिएका भएकाले ती विषयमा सरकारले जिम्मेवार ढंगले जवाफ दिनुपर्ने बताए।
मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने उल्लेख गर्दै सभामुखले सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले अपनाएका पूर्वतयारी, विपद् व्यवस्थापनका योजना तथा भइरहेका कामकारबाहीबारे संसदलाई जानकारी गराउन आवश्यक रहेको बताए।
उनले प्राकृतिक विपद्को समयमा जनधनको क्षति कम गर्न पूर्वतयारी, उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार सजग हुनुपर्नेमा पनि जोड दिए।
सभामुख अर्यालले निर्देशन दिँदै भने, “देशका विभिन्न भागमा बाढी, पहिरो तथा डुबानका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण, विपद् व्यवस्थापन तथा पूर्वतयारीका लागि सरकारले गरेका कामकारबाही र आगामी योजनाबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन गर्दछु।”
सभामुखको निर्देशनसँगै अब सरकारले सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाफ दिनुका साथै मनसुनजन्य विपद् व्यवस्थापनका लागि गरिएका तयारीबारे संसदमा औपचारिक जानकारी गराउने अपेक्षा गरिएको छ।




