काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत पहिलो क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। बोस्टनस्थित मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो।
खेलको सुरुआतदेखि नै फ्रान्सले बलमाथि नियन्त्रण कायम राख्दै लगातार आक्रमण गरिरहेको थियो। २५औँ मिनेटमा कप्तान केलियन एम्बापेमाथि पेनाल्टी क्षेत्रभित्र फाउल भएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो। तर २८औँ मिनेटमा एम्बापेको प्रहार मोरक्कोका गोलरक्षक यासिन बोनोले शानदार रूपमा बचाउँदै टोलीलाई संकटबाट जोगाए।
पहिलो हाफको इन्जुरी समयमा मोरक्कोले पनि राम्रो अवसर सिर्जना गरेको थियो। अचरफ हकिमीले बक्सबाहिरबाट गरेको शक्तिशाली प्रहार भने लक्ष्यभन्दा बाहिरिएको थियो। त्यससँगै पहिलो हाफ गोलरहित बराबरीमा समाप्त भयो। यस अवधिमा बोनोले फ्रान्सका लगातार केही उत्कृष्ट प्रहार रोक्दै आफ्नो टोलीलाई खेलमा कायम राखेका थिए।
दोस्रो हाफमा भने फ्रान्सले थप आक्रामक रणनीति अपनायो। त्यसको फलस्वरूप ६०औँ मिनेटमा कप्तान एम्बापेले डिफेन्डरलाई छलाउँदै उत्कृष्ट गोल गरे र फ्रान्सलाई अग्रता दिलाए।
पहिलो गोलको मात्र छ मिनेटपछि फ्रान्सले अर्को गोल थप्यो। एम्बापेको सटिक पासलाई ओस्मान डेम्बेलेले आकर्षक रूपमा जाली चुमाउँदै फ्रान्सको अग्रता दोब्बर बनाए।
यससँगै फ्रान्स लगातार अर्को पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ। सन् २०२२ को विश्वकपमा पनि फ्रान्सले सेमिफाइनलमै मोरक्कोलाई पराजित गर्दै उपाधि भिडन्तमा स्थान बनाएको थियो।
अब फ्रान्सले सेमिफाइनलमा स्पेन र बेल्जियमबीच हुने क्वार्टरफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
उता, मोरक्कोको प्रभावशाली यात्रा भने क्वार्टरफाइनलमै टुंगिएको छ। सन् २०२२ मा ऐतिहासिक रूपमा चौथो स्थान हासिल गरेको मोरक्कोले यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम आठसम्मको यात्रा तय गरे पनि फ्रान्सको चुनौती पार गर्न सकेन।




