अमेरिका–इरान तनाव फेरि चुलियो, इरानद्वारा हर्मुज जलसन्धि बन्द गर्ने घोषणा

अमेरिका र इरानबीच फेरि सैन्य तनाव तीव्र बनेको छ। दुवै देशले एकअर्काविरुद्ध व्यापक सैन्य कारबाही गरेपछि विश्व व्यापारका लागि अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज जलसन्धिलाई अर्को सूचना नभएसम्म बन्द गरिएको इरानले घोषणा गरेको छ। यद्यपि, अमेरिकाले भने उक्त जलमार्ग सञ्चालनमा नै रहेको दाबी गरेको छ।

इरानका अनुसार अमेरिकी सेनाले इरानभित्र रहेका १४० भन्दा बढी सैन्य अखडालाई लक्षित गरी हवाई आक्रमण गरेपछि आइतबार बिहानदेखि हर्मुज जलसन्धि बन्द गरिएको हो। तर अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले जलमार्ग अझै खुला रहेको र जहाजहरूको आवागमन सामान्य रहेको जनाएको छ।

अमेरिकी पक्षका अनुसार हर्मुज जलसन्धिबाट यात्रा गरिरहेको साइप्रसको झन्डा बोकेको व्यापारिक जहाज एमभी जीएफएस ग्यालेक्सी माथि इरानी सेनाले क्रुज मिसाइल प्रहार गरेपछि जवाफी कारबाही गरिएको हो। उक्त आक्रमणबाट जहाजको इन्जिन कक्षमा क्षति पुगेको, चालक दलका सदस्यहरू जीवनरक्षा डुङ्गामार्फत सुरक्षित स्थानतर्फ जान बाध्य भएको तथा एक सदस्य बेपत्ता रहेको जनाइएको छ।

अमेरिकी रक्षा सचिव पिट हेगसेथका अनुसार जवाफस्वरूप अमेरिकाले इरानका मिसाइल तथा ड्रोन केन्द्र, सञ्चार सञ्जाल र तटीय निगरानी केन्द्रसहित १४० सैन्य निसानामा आक्रमण गरेको छ।

यता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले जोर्डनस्थित अमेरिकी सैन्य अखडा प्रिन्स हसन हवाई अड्डा मा व्यापक आक्रमण गरी कमाण्ड केन्द्र र ड्रोन भण्डारणस्थल ध्वस्त पारेको दाबी गरेको छ।

इरानले संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, ओमान र बहराइनस्थित अमेरिकी हित र सैन्य संरचनालाई लक्षित गरी मिसाइल तथा ड्रोन आक्रमणसमेत गरेको जनाएको छ। कतार र संयुक्त अरब इमिरेट्सले भने अधिकांश आक्रमणलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीमार्फत निष्क्रिय पारिएको बताएका छन्।

यो घटनाक्रमले केही साताअघि मात्रै हर्मुज जलसन्धि खुला राख्ने र स्थायी शान्तिको वातावरण निर्माण गर्ने उद्देश्यले भएको अन्तरिम युद्धविराम सम्झौतालाई गम्भीर संकटमा पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आक्रमणसँगै युद्धविराम समाप्त भएको घोषणा गरेका छन् भने इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिका स्वयंले सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका छन्।

राष्ट्रपति ट्रम्पले मध्यस्थकर्ताहरूले वार्ता जोगाउने प्रयास जारी राखेको र कूटनीतिक संवाद पूर्ण रूपमा रोकिएको नभएको बताएका छन्।

यसैबीच, इरानका संसदका सभामुख तथा अमेरिकासँगको वार्ता टोलीका प्रमुख मोहम्मद बागेर गालिबाफले सामाजिक सञ्जाल एक्स मार्फत “एकतर्फी सम्झौताको युग समाप्त भएको” बताएका छन्। उनले “वाचा पूरा गर, अन्यथा त्यसको मूल्य चुकाउन तयार रह” भन्दै अमेरिकाप्रति कडा चेतावनी दिएका छन्।

उता अमेरिकी सेन्ट्रल कमाण्डले भने हर्मुज जलसन्धि खुला रहेको दोहोर्‍याउँदै अन्तर्राष्ट्रिय जलमार्गको निर्बाध सञ्चालन सुनिश्चित गर्न आवश्यक परे जुनसुकै कदम चाल्न अमेरिका तयार रहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर