तराई नजिक सर्‍यो मनसुनको न्यून चापीय रेखा, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि उठेर नेपालको तराई क्षेत्र नजिक पुगेको छ। यसका कारण देशका अधिकांश भूभागमा बदली बढेको छ भने विभिन्न स्थानमा वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मधेस तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भएको जनाइएको छ।

सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा पनि यस्तै मौसमी गतिविधि देखिन सक्ने अनुमान गरिएको छ।

त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान र कर्णाली प्रदेशका पहाडी भूभागमा पनि वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।

महाशाखाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। साथै मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास बसोबास गर्ने, पहिरोको जोखिम भएका क्षेत्रका बासिन्दा तथा सडक यात्रुले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

मौसमविद्का अनुसार भारी वर्षाका कारण बाढी, डुबान, पहिरो तथा सडक यातायात प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर