चितवन । लगातारको वर्षासँगै ठाउँ–ठाउँमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सडकमा यात्रुको सुरक्षा जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले अर्को सूचना जारी नभएसम्मका लागि यस सडकखण्ड हुँदै हुने सबै प्रकारका सवारीसाधनको आवागमन स्थगित गरेको जनाएको छ।
प्रशासनका अनुसार निरन्तर वर्षा भइरहेकाले विभिन्न स्थानमा पहिरो खस्ने क्रम जारी छ। प्रतिकूल मौसमका कारण सडक सफा गरी सञ्चालनमा ल्याउने कार्यसमेत प्रभावित भएकाले तत्काल सडक खुल्ने अवस्था नरहेको बताइएको छ।
यस परिस्थितिलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई हालका लागि यात्रा स्थगित गर्न आग्रह गरिएको छ। त्यसैगरी रुपन्देही, नवलपरासीलगायत पश्चिमी जिल्लाबाट काठमाडौंतर्फ आउँदै गरेका यात्रुहरूलाई चितवनभन्दा अगाडि नबढ्न प्रशासनले अनुरोध गरेको छ।
यात्रा गर्नैपर्ने बाध्यता भएका व्यक्तिहरूलाई आवश्यक सतर्कता अपनाउन र साथमा खानेपानी, सुक्खा खाद्य सामग्री, प्राथमिक उपचारका औषधि, अतिरिक्त लुगा, मोबाइल चार्जरलगायत अत्यावश्यक सामग्री बोकेर मात्रै यात्रा गर्न प्रशासनले सुझाव दिएको छ।
साथै आकस्मिक सहायता आवश्यक परेमा नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बलको ११४४, जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४ वा जिल्ला प्रहरी कार्यालय चितवनमा सम्पर्क गर्न प्रशासनले अनुरोध गरेको छ।
प्रशासनले सडक सञ्चालनसम्बन्धी अर्को सूचना जारी नभएसम्म सम्बन्धित सबैलाई संयमता अपनाई सुरक्षित रहन आग्रह गरेको छ।




