उपसभामुखको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल चीन भ्रमणमा

काठमाडौं, असार ३१ — सङ्घीय संसद् प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारीको नेतृत्वमा पाँच सदस्यीय प्रतिनिधिमण्डल जनवादी गणतन्त्र चीनको नियिङ्ची नगरतर्फ प्रस्थान गरेको छ। प्रतिनिधिमण्डलले त्यहाँ आयोजना हुने अन्तर्राष्ट्रिय सहकार्यसम्बन्धी अन्तरहिमाली मञ्चमा नेपालको तर्फबाट सहभागिता जनाउनेछ।

संसदीय सचिवालयका अनुसार प्रतिनिधिमण्डलमा सचिव डा. रोजनाथ पाण्डे, उपसचिव विमला घिमिरे, उपसचिव नागेन्द्र चौधरी तथा कम्प्युटर कार्यक्रमकर्ता अनिशा ढकाल सहभागी छन्।

भ्रमणका क्रममा साउन १ गतेसम्म सञ्चालन हुने कार्यक्रममा उपसभामुखले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। कार्यक्रममा विभिन्न देशका प्रतिनिधिबीच अन्तरहिमाली क्षेत्रको सहकार्य, आपसी सम्बन्ध, विकास, व्यापार, पूर्वाधार, वातावरण संरक्षण तथा साझा हितका विषयमा विचार आदानप्रदान हुने जनाइएको छ।

भ्रमण अवधिमा प्रतिनिधिमण्डलले चीनको स्वायत्त क्षेत्र सिजाङका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ। भेटवार्तामा द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, पारस्परिक हित तथा भविष्यका सहकार्यका सम्भावनाबारे छलफल हुने अपेक्षा गरिएको छ।

संसदीय सचिवालयका अनुसार भ्रमण सम्पन्न गरी प्रतिनिधिमण्डल साउन ४ गते स्वदेश फर्किने कार्यतालिका रहेको छ।

यस भ्रमणलाई नेपाल–चीन संसदीय सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी विश्वास अभिवृद्धि गर्ने तथा अन्तर्राष्ट्रिय सहकार्यका नयाँ सम्भावनालाई विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर