देशभर अति भारी वर्षाको सम्भावना, २३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक

काठमाडौं। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न क्षेत्रमा शनिबार र आइतबार अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सबै नागरिक तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानका आधारमा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ। त्यस्तै मधेस, बागमती तथा अन्य हिमाली र पहाडी भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने अनुमान गरिएको छ।

लगातारको वर्षासँगै आकस्मिक बाढी, पहिरो, भू–क्षय, डुबान तथा गेग्रान बहावको जोखिम अत्यधिक बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्राधिकरणले विशेष आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा विशेष गरी रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

जोखिमको अवस्था मूल्याङ्कन गर्दै प्राधिकरणले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ अति जोखिमयुक्त जिल्लामा रात्रिकालीन सवारी आवागमन अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। यी जिल्लामा पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा रहेका छन्। आवश्यकता अनुसार अन्य क्षेत्रमा पनि जुनसुकै समयमा सवारी आवागमनमा रोक लगाउन सकिने प्राधिकरणले जनाएको छ।

विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकलाई उच्च तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। सम्भावित सडक अवरोध तत्काल हटाउन जोखिमयुक्त राजमार्गमा भारी उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। साथै नदी किनार, पहिरोको जोखिम रहेका बस्ती तथा डुबान हुन सक्ने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरिएको छ।

सहायताको आवश्यकता परे वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरी १०० तथा सशस्त्र प्रहरी बल १११४ मा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ।

प्राधिकरणले मौसमसम्बन्धी आधिकारिक सूचना, चेतावनी तथा अद्यावधिक जानकारी नियमित रूपमा सञ्चार माध्यम र सम्बन्धित सरकारी माध्यमबाट प्राप्त गरी सतर्क रहन सबैमा आग्रह गरेको छ।

 

प्रतिक्रिया
सम्बन्धित खबर