४ साउन, काठमाडौं । फ्रान्सलाई लगातार दोस्रो पटक विश्वकपको उपाधि दिलाउने लक्ष्यसहित मैदान उत्रिएका कप्तान किलियन एमबाप्पे टोलीलाई फाइनलसम्म पुर्याउन सफल भएनन्। सेमिफाइनलमा स्पेनसँग २–० को हार बेहोर्दै फ्रान्स उपाधि दौडबाट बाहिरिए पनि एमबाप्पेले व्यक्तिगत प्रदर्शनमार्फत विश्वकप इतिहासमा नयाँ अध्याय लेखेका छन्।
विश्व फुटबलका उत्कृष्ट आक्रमणकर्तामध्ये एक मानिएका २७ वर्षीय एमबाप्पेले प्रतियोगिताभर उत्कृष्ट लय कायम राखे। उनले आठ खेलमा १० गोल र ४ गोलका अवसर सिर्जना गर्दै लगातार दोस्रो पटक सर्वाधिक गोलकर्ताको सम्मान प्राप्त गरे। यससँगै उनी लगातार दुई विश्वकपमा स्वर्ण जुत्ता जित्ने पहिलो खेलाडी बने।
सन् २०१८ मा १९ वर्षको उमेरमै फ्रान्सलाई विश्वकप जिताएका एमबाप्पेले २०२२ मा पनि टोलीलाई फाइनल पुर्याउँदै सर्वाधिक आठ गोलसहित व्यक्तिगत रूपमा स्वर्ण जुत्ता जितेका थिए। यसपटक कप्तानको भूमिकामा रहेका उनले टोलीलाई अन्तिम दुईसम्म पुर्याउन नसके पनि आफ्नो गोल गर्ने क्षमताले फेरि सबैको ध्यान ताने।
फ्रान्स समूह चरणदेखि नै प्रभावशाली देखिएको थियो। प्रिक्वाटरफाइनलमा पाराग्वेविरुद्ध केही कठिनाइ भोगे पनि क्वाटरफाइनलसम्म एमबाप्पेको नेतृत्वमा टोली सशक्त देखियो। तर सेमिफाइनलमा स्पेनसँग पराजित भएपछि फ्रान्सको उपाधि यात्रा टुंगियो।
तेस्रो स्थानका लागि इंग्ल्यान्डविरुद्ध भएको खेलमा एमबाप्पेले दुई गोल र एक गोलका अवसर सिर्जना गर्दै आफ्नो व्यक्तिगत उपलब्धिलाई अझ उचाइमा पुर्याए। प्रतियोगिताको अन्त्यसम्म उनले १० गोल पूरा गर्दै सर्वाधिक गोलकर्ताको सम्मान सुरक्षित गरे।
विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता
एमबाप्पेको यस संस्करणको सबैभन्दा ठूलो उपलब्धि भने विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्नु रह्यो। उनले तीन संस्करणमा गरी २२ खेल खेल्दै २२ गोल गरेका छन्। यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसीको नाममा ३३ खेलबाट २१ गोलको कीर्तिमान थियो। एमबाप्पेले ११ खेल कम खेल्दै त्यो कीर्तिमान उछिने।
यस विश्वकपअघि जर्मनीका मिरोस्लाभ क्लोज १६ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा अग्रस्थानमा थिए। प्रतियोगिताकै क्रममा मेसीले क्लोजको कीर्तिमान तोडेका थिए। त्यसपछि एमबाप्पेले समूह चरणदेखि निरन्तर गोल गर्दै मेसीलाई पछ्याए र अन्ततः तेस्रो स्थानको खेलमा दुई गोल थप्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको नयाँ कीर्तिमान आफ्नै नाममा लेखाए।
प्रतियोगिताभर निरन्तर प्रभाव
एमबाप्पेले पहिलो खेलमै सेनेगलविरुद्ध दुई गोल गर्दै प्रतियोगिताको सुरुआत गरेका थिए। त्यसपछि इराकविरुद्ध पनि दुई गोल गरे। स्वीडेनविरुद्ध दुई गोल, पाराग्वेविरुद्ध निर्णायक पेनाल्टी गोल, मोरक्कोविरुद्ध एक गोल र इंग्ल्यान्डविरुद्ध दुई गोल गर्दै उनले कुल १० गोल पूरा गरे। नर्वेविरुद्धको समूह चरणको खेल र स्पेनविरुद्धको सेमिफाइनलमा मात्र उनी गोल गर्न सकेनन्।
उपाधिभन्दा माथि उठेको व्यक्तिगत उपलब्धि
फ्रान्सको विश्वकप यात्रा सेमिफाइनलमै रोकिए पनि एमबाप्पेले आफ्नो प्रदर्शनबाट विश्व फुटबलमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन्। २७ वर्षकै उमेरमा तीन विश्वकप खेल्दै सर्वकालीन सर्वाधिक गोलकर्ता बन्नु र लगातार दुई संस्करणमा स्वर्ण जुत्ता जित्नु उनको असाधारण निरन्तरता र गोल गर्ने अद्वितीय क्षमताको प्रमाण बनेको छ। उपाधि हात नपरे पनि यस विश्वकपले एमबाप्पेलाई विश्व फुटबल इतिहासका महानतम खेलाडीहरूको अग्रपंक्तिमा उभ्याएको छ।




