६ साउन, काठमाडौं। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका इरानसँगको बढ्दो तनाव अन्त्य गर्न वार्ता र कूटनीतिक सम्झौताका लागि अझै पनि तयार रहेको बताएका छन्। तर, इरानले वार्तालाई आवश्यक गम्भीरताका साथ नलिएको उनको आरोप छ।
बीबीसी फारसीका अनुसार दक्षिण–पूर्वी एसियाली राष्ट्रहरूको विदेशमन्त्रीस्तरीय बैठकका क्रममा रुबियोले अमेरिका–इरान सम्बन्धबारे धारणा राख्दै कूटनीतिक समाधान नै संकट अन्त्य गर्ने उपयुक्त विकल्प भएको बताए।
उनले भने, “अमेरिका अझै पनि इरानसँगको संकट अन्त्य गर्न वार्ताका लागि तयार छ, तर इरानले वार्ताप्रति गम्भीरता देखाएको छैन।”
यता, इरानका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार इरानले मध्यस्थकर्तामार्फत १० दिनको युद्धविरामसम्बन्धी प्रस्ताव प्राप्त गरेको छ। उक्त प्रस्तावबारे तेहरानले औपचारिक प्रतिक्रिया भने सार्वजनिक गरेको छैन।
यसैबीच, इरानका गृहमन्त्रीले हालै पाकिस्तानको भ्रमण गरेका छन्। भ्रमणका क्रममा उनले पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ तथा सेना प्रमुख जनरल असीम मुनिरसँग क्षेत्रीय सुरक्षा, द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल गरेका थिए।
अमेरिका र इरानबीच लामो समयदेखि जारी तनावबीच वार्ताको सम्भावना र कूटनीतिक प्रयासले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको छ।




