दिल्लीको विद्यार्थी आन्दोलनको प्रभाव बिहारसम्म, पटनामा प्रदर्शनपछि प्रहरीसँग झडप

काठमाडौं । भारतको राजधानी दिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा बुधबार बिहारको राजधानी पटनामा पनि विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। ‘अल इन्डिया स्टुडेन्ट्स एसोसिएसनको’ आह्वानमा आयोजित प्रदर्शनमा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरू सहभागी भएका थिए।

हिन्दुस्तान टाइम्सका अनुसार प्रदर्शनकारीहरूले गान्धी मैदानको गेट नम्बर–१० बाट राजभवनतर्फ मार्च सुरु गरेका थिए। तर जेपी गोलम्बर क्षेत्रमा पुगेपछि प्रहरीले उनीहरूको र्‍याली रोकेको थियो।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा (वाटर क्यानन) र अश्रुग्यास प्रयोग गरेको जनाएको छ। बिबिसीका अनुसार प्रहरीले कम्तीमा दुई राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। घटनाका क्रममा प्रदर्शनकारीहरूले पनि प्रहरीमाथि ढुंगामुढा गरेको आरोप लगाइएको छ।

प्रहरीको अवरोधका बाबजुद प्रदर्शनकारी विद्यार्थीहरू अघि बढ्दै डाक बंगला चौराहासम्म पुगेका थिए। प्रदर्शनका क्रममा उनीहरूले ‘गोदी मिडिया गो ब्याक’ लगायतका नाराबाजी गरेका थिए।

यसैबीच, प्रदर्शनका क्रममा केही सञ्चारकर्मी घाइते भएको समाचार सार्वजनिक भएको छ। पछि केही व्यक्तिहरूको हस्तक्षेपपछि उनीहरूलाई भीडबाट सुरक्षित रूपमा बाहिर निकालिएको बताइएको छ।

दिल्लीमा सुरु भएको विद्यार्थी आन्दोलनको प्रभाव अन्य राज्यहरूमा समेत फैलिन थालेसँगै भारतका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर