इरानमाथि थप शक्तिशाली आक्रमणको अमेरिकी चेतावनी, तेहरानको प्रतिक्रिया– ‘यसको ठूलो मूल्य चुकाउनुपर्नेछ’

८ साउन, काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझ व्यापक सैन्य कारबाही गर्ने सम्भावनाबारे संकेत दिएका छन्। उनका अनुसार इरानले अहिलेसम्म पर्याप्त क्षति नबेहोरेकाले अमेरिका थप कडा कदम चाल्ने निर्णयको नजिक पुगेको छ।

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले जुलाई २३ को राति इरानमाथि लगातार १३औँ रातसम्म हवाई आक्रमण जारी राखेको जनाएको छ। सेन्टकमका अनुसार सैन्य कमाण्ड सेन्टर, ड्रोन भण्डारण स्थल, सञ्चार सञ्जाल, तटीय निगरानी केन्द्र तथा समुद्री सैन्य पूर्वाधारलाई लक्षित गरी हमला गरिएको हो।

इरानको अर्धसरकारी समाचार संस्था तस्निम का अनुसार दक्षिणपश्चिमी प्रान्त खुजेस्तानको अहवाज नजिक अमेरिकी मिसाइल आक्रमणमा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

ट्रम्पको अभिव्यक्तिपछि इरानका विदेशमन्त्री अब्बास अराघचीले कडा प्रतिक्रिया जनाउँदै अमेरिकाको ‘अविवेकी आक्रामकता’ ले युद्ध अन्त्यका लागि अझ ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

अमेरिकी वायुसेनाले इरानका प्रमुख पाँच सहर– खोंदाब, खोर्रमाबाद, कोनारक, जास्क तथा राजधानी तेहरानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको बताइएको छ। रणनीतिक रूपमा अत्यन्त संवेदनशील मानिने होर्मुज जलसन्धिनजिकको जास्क बन्दरगाह क्षेत्रमा शक्तिशाली विस्फोटहरू भएको जनाइएको छ। आक्रमणका क्रममा इरानले आफ्नो वायु प्रतिरक्षा प्रणाली सक्रिय पारेको थियो।

उत्तरी इराकमा खसालिएको एक इरानी ड्रोनको नफुटेको विस्फोटक पदार्थ निष्क्रिय पार्ने क्रममा एक अमेरिकी सैनिकको मृत्यु भएको छ भने अर्का एक सैनिक घाइते भएका छन्। यससँगै हालको युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १७ पुगेको बताइएको छ।

युद्ध लम्बिँदै जाँदा अमेरिकाको हतियार भण्डारमा उल्लेखनीय दबाब परेको पेन्टागनका पूर्व अधिकारी मार्क क्यान्सियनले बताएका छन्। उनका अनुसार इरानविरुद्ध प्रयोग भइरहेका प्रमुख सात प्रकारका हतियारमध्ये करिब आधा भण्डार सकिन लागेको छ, जसलाई पुनः पूर्ण रूपमा भरिन दुईदेखि पाँच वर्ष लाग्न सक्छ।

तेलको मूल्य १०० डलर नाघ्यो

यमनका हुथी विद्रोहीहरूले लाल सागरमा साउदी अरेबियाका दुई तेल ट्याङ्कर एन्सेलिया र लाइला माथि ब्यालिस्टिक मिसाइल, क्रुज मिसाइल तथा ड्रोनमार्फत आक्रमण गरेका छन्। आक्रमणपछि दुवै ट्याङ्करमा आगलागी भएको बताइएको छ।

यस घटनापछि बाब अल–मन्देब जलसन्धि हुँदै आवतजावत गर्ने कम्तीमा १० वटा व्यापारिक जहाजले आफ्नो मार्ग परिवर्तन गरी अफ्रिकाको दक्षिणी किनार हुँदै केप अफ गुड होपको लामो समुद्री मार्ग रोजेका छन्।

मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेको छ। पछिल्लो एक सातामै कच्चा तेलको मूल्य करिब १३.५ प्रतिशतले बढेको जनाइएको छ।

अमेरिकी सिनेटले युद्ध रोक्ने प्रस्ताव अस्वीकृत

अमेरिकी प्रतिनिधि सभाले युद्ध नियन्त्रणका लागि ल्याइएको वार पावर्स रिजोल्युसन २१४–२०८ मतले पारित गरे पनि सिनेटले ४७–४९ मतले अस्वीकृत गरेको छ।

यसैबीच, प्रतिनिधि सभाले ट्रम्प प्रशासनको ९५ अर्ब अमेरिकी डलर बराबरको अतिरिक्त रक्षा बजेट २१६–२१४ मतले स्वीकृत गरेको छ। उक्त बजेट इरानविरुद्धको सैन्य अभियानका लागि प्रयोग हुने जनाइएको छ।

उता, बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले इरानविरुद्ध सञ्चालन हुने अमेरिकी सैन्य कारबाहीका लागि डिएगो गार्सिया र फेयरफोर्ड वायुसेना अड्डा प्रयोग गर्न अनुमति दिएको जनाइएको छ।

 

प्रतिक्रिया
सम्बन्धित खबर