काठमाडौं, ८ साउन — उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा. डेनियल म्युउली मोन्टेलियोनले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा नेपाल–स्वीट्जरल्यान्डबीचको द्विपक्षीय सम्बन्ध, विकास साझेदारी तथा आपसी हितका विविध विषयमा विस्तृत छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ।
उपराष्ट्रपति यादवले सन् १९५६ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र स्वीट्जरल्यान्डबीचको सम्बन्ध सदैव मैत्रीपूर्ण, विश्वासमा आधारित र सहयोगात्मक रहँदै आएको उल्लेख गरे। उनले उच्चस्तरीय भ्रमणहरूले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै नयाँ ऊर्जा प्रदान गरेको बताए।
उनले नेपालको शान्ति प्रक्रिया, लोकतान्त्रिक रूपान्तरण तथा विकासका विभिन्न क्षेत्रमा स्वीस सरकारले निरन्तर पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे। साथै, स्वीस विकास तथा सहयोग नियोग (एसडीसी) ले नेपाललाई आफ्नो प्राथमिकतामा निरन्तर राखेकोमा खुसी व्यक्त गर्दै भूकम्पपछिको पुनर्निर्माण, झोलुङ्गे पुल निर्माण, रोजगारी सृजना तथा प्राविधिक सहयोगजस्ता कार्यक्रमहरूले जनस्तरसम्म प्रत्यक्ष लाभ पुगेको उल्लेख गरे।
उपराष्ट्रपति यादवले आगामी दिनमा विकास साझेदारी, लगानी, प्राविधिक सहयोग तथा जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्दै द्विपक्षीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वाससमेत व्यक्त गरे।
भेटका क्रममा राजदूत डा. डेनियल म्युउली मोन्टेलियोनले नेपाल र स्वीट्जरल्यान्डबीचको कूटनीतिक सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए। उनले स्वीस सरकार नेपालको उद्योगलगायत विभिन्न उत्पादनमूलक तथा विकासका क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको उल्लेख गर्दै आर्थिक सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।
भेटवार्तामा दुवै पक्षले आपसी विश्वास, विकास साझेदारी र साझा हितका क्षेत्रहरूमा सहकार्य विस्तार गर्दै नेपाल–स्वीट्जरल्यान्ड सम्बन्धलाई थप उचाइमा पुर्याउने विषयमा सकारात्मक छलफल गरेको जनाइएको छ।




