९ साउन, काठमाडौं। भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय पात्रता तथा प्रवेश परीक्षा निटको प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणलाई लिएर बढ्दो राजनीतिक दबाब र देशव्यापी विरोध प्रदर्शनबीच उनले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन्।
गत करिब एक महिनादेखि नयाँ दिल्लीस्थित जन्तर–मन्तरलगायत भारतका विभिन्न स्थानमा शिक्षामन्त्री प्रधानको राजीनामा माग गर्दै प्रदर्शन हुँदै आएको थियो। विपक्षी दलहरू, विशेषगरी कांग्रेससहित अन्य राजनीतिक शक्तिहरूले पनि यस विषयमा सरकारमाथि दबाब बढाएका थिए।
प्रधानले सामाजिक सञ्जाल एक्स मार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै देशको एकता, विद्यार्थीहरूको भविष्य र शैक्षिक वातावरणलाई प्राथमिकतामा राखेर राजीनामा दिएको बताएका छन्।
उनले लेखेका छन्, “देशभर विकसित भएको वर्तमान परिस्थितिको फाइदा कुनै पनि राष्ट्रविरोधी शक्तिले नउठाओस्, देशको एकता कायम रहोस्, कुनै पनि विद्यार्थीको भविष्य कानुनी जटिलतामा नपरोस् र विद्यार्थीहरू आफ्नो अध्ययन तथा करियर निर्माणमा केन्द्रित हुन सकून् भन्ने उद्देश्यले मैले सम्माननीय प्रधानमन्त्रीज्यूलाई आफ्नो राजीनामा बुझाएको छु।”
निट परीक्षा सम्बन्धी अनियमितताको विषयमा लामो समयदेखि उठिरहेको विवादका कारण सरकारमाथि बढेको दबाबबीच प्रधानको राजीनामालाई भारतीय राजनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।




