फ्रान्स–स्पेनमा भीषण डढेलो : २ लाख ५० हजारभन्दा बढी विस्थापित, युरोपभर उच्च सतर्कता

१० साउन, काठमाडौं । दक्षिणपश्चिमी फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलो नियन्त्रणबाहिर जाँदा दुवै देशमा ठूलो मानवीय संकट उत्पन्न भएको छ। तीव्र हावा, अत्यधिक तापक्रम र सुख्खा मौसमका कारण आगो तीव्र गतिमा फैलिरहेको छ। डढेलोका कारण हालसम्म २ लाख ५० हजारभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिएका छन् भने स्पेनले राष्ट्रिय आपतकाल घोषणा गरेको छ।

बीबीसीका अनुसार फ्रान्सको बोर्डो सहर आसपासको अवस्था अत्यन्त जटिल बनेको छ। फ्रान्सका अधिकारीहरूले आगो तत्काल नियन्त्रणमा आउने सम्भावना नरहेको जनाउँदै अहिले पनि अवस्था चुनौतीपूर्ण रहेको बताएका छन्।

बोर्डो आसपास धुवाँको प्रभाव, स्थानीय त्रसित

शनिबार बिहानसम्म डढेलो बोर्डोबाट करिब ४०–५० किलोमिटर दूरीमा पुगेको थियो। तीव्र हावाका कारण आगोको धुवाँ सहरसम्म फैलिएको छ भने स्थानीयले हावामा जलेको गन्ध र बाक्लो धुवाँको असर महसुस गरिरहेका छन्।

डढेलोबाट प्रभावित पर्यटकहरूले आगोको अवस्था अत्यन्त भयावह रहेको बताएका छन्। करिब १०० माइल टाढा पुगेपछि पनि डढेलोको गन्ध आइरहेको उनीहरूको भनाइ छ। बोर्डोमा बिदा मनाइरहेका बेलायती दम्पतीले खरानीले घरको स्विमिङ पुल ढाकेको, बाहिर निस्कँदा खुट्टा कालो हुने तथा धुवाँका कारण सास फेर्न कठिन भएको बताएका छन्।

फ्रान्समा २ लाख मानिसको उद्धार, सेना परिचालन

फ्रान्सको गिरोन्दे र लान्देस क्षेत्रमा मात्रै करिब २ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले डढेलो नियन्त्रणका लागि सेना परिचालन गर्दै झाडी हटाउने, आगो फैलिन नदिन ‘फायर ब्रेक’ निर्माण गर्ने तथा अन्य नियन्त्रणका उपायहरू अपनाएको छ।

देशभर करिब ३० वटा डढेलो सक्रिय रहेकाले राष्ट्रपति इमानुएल म्याक्रोनले मन्त्रीहरूसँग आपतकालीन बैठक बोलाउने तयारी गरेका छन्। सरकारले यस वर्षको डढेलोलाई अभूतपूर्व संकटका रूपमा वर्णन गरेको छ।

यसैबीच, सुरक्षाकर्मीलाई प्रभावित क्षेत्रमा परिचालन गर्न सहज होस् भनेर आइतबार हुने टुर डी फ्रान्स साइकल प्रतियोगिताको अन्तिम चरण १३३ किलोमिटरबाट घटाएर ८९ किलोमिटरमा सीमित गरिएको छ।

स्पेनमा मौसमले केही राहत, एक जनाको मृत्यु

स्पेनमा जारी डढेलोका कारण आपतकाल घोषणा गरिएको छ। राजधानी म्याड्रिड आसपासको क्षेत्रमा हावाको गति कम हुनु, आर्द्रता बढ्नु र तापक्रम घट्नुले आगो नियन्त्रणमा केही राहत मिलेको अधिकारीहरूले बताएका छन्।

प्रधानमन्त्री पेद्रो सान्चेजले अहिलेको अवस्थालाई डढेलो नियन्त्रणका लागि महत्वपूर्ण अवसर भने पनि आगामी दिन अझै कठिन रहने बताएका छन्।

यसबीच, भ्यालेन्सिया क्षेत्रमा डढेलो निभाउने क्रममा करिब ७० वर्षीय एक पुरुषको मृत्यु भएको पुष्टि भएको छ। उनी आफ्नै कारभित्र मृत अवस्थामा फेला परेका थिए।

स्पेनको गृह मन्त्रालयका अनुसार म्याड्रिड र आविला क्षेत्रबाट करिब ६० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने २८ हजारभन्दा बढी अझै घरभित्रै बस्न बाध्य छन्। म्याड्रिडकी क्षेत्रीय प्रमुख इसाबेल डियाज आयुसोले यसलाई क्षेत्रकै इतिहासको सबैभन्दा ठूलो डढेलो भनेकी छन्।

यस वर्ष रेकर्डस्तरमा वन क्षेत्र नष्ट

प्रधानमन्त्री सान्चेजका अनुसार सन् २०२६ को सुरुदेखि हालसम्म स्पेनमा १ लाख ३० हजार हेक्टरभन्दा बढी वन क्षेत्र डढेलोले नष्ट गरिसकेको छ, जुन पछिल्लो दशकको वार्षिक औसतभन्दा धेरै हो।

यता फ्रान्सका गृहमन्त्री लरेन नुनेजका अनुसार फ्रान्समा पनि यस वर्षको सुरुदेखि ९८ हजार हेक्टर वन क्षेत्र जलेको छ।

इटालीको सिसिली द्वीपमा ३५० भन्दा बढी स्थानमा आगलागी भएको छ, जसमा १० वटा ठूलो डढेलो सक्रिय छन्। स्कटल्यान्डको केर्नगोर्म्स राष्ट्रिय निकुञ्जमा १० दिनदेखि लागेको डढेलो नियन्त्रणका लागि पनि ठूलो स्तरमा उद्धार तथा नियन्त्रण अभियान जारी छ।

युरोपभर उच्च सतर्कता

युरोपेली संघ (ईयू) की संकट व्यवस्थापन आयुक्त हद्जा लाहबिबले यस वर्ष डढेलोबाट हुने क्षतिले अघिल्ला सबै रेकर्ड तोड्न सक्ने चेतावनी दिएकी छन्। उनका अनुसार गत वर्ष युरोपमा करिब १० लाख हेक्टर वन क्षेत्र जलेको थियो भने यस वर्ष गर्मी सुरु हुनुअघि नै डढेलो फैलिन थालेकाले जोखिम अझ बढेको छ।

डढेलो नियन्त्रणमा सहयोग पुर्‍याउन ईयूले फ्रान्समा क्रोएसियाबाट तीनवटा क्यानाडेयर विमान, पोर्चुगलबाट दुईवटा एयर ट्याक्टर, चेक गणतन्त्र र स्लोभाकियाबाट ब्ल्याक हक हेलिकोप्टर तथा रोमानियाबाट वन डढेलो नियन्त्रण टोली परिचालन गरेको छ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले ईयूको संयुक्त अग्निनियन्त्रण संयन्त्रमार्फत फ्रान्स र स्पेनमा ११ वटा विमान तथा हेलिकोप्टर परिचालन गरिएको जानकारी दिएकी छन्।

प्रतिक्रिया
सम्बन्धित खबर