काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार पहिरो र बाढीका कारण केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने जोखिम बढेपछि केही राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनसमेत रोकिएको छ।
ललितपुरको बागमती गाउँपालिका–३ पाण्डुरस्थित कान्ति लोकपथ आज बिहान ५ः३५ बजेदेखि पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत अरनिको राजमार्गको चारकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको छ। यसले चीनतर्फको आवागमनसमेत प्रभावित बनेको छ।
यता, कोशी प्रदेशको इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग (झापा–ताप्लेजुङ सडक) पनि अविरल वर्षाका कारण अवरुद्ध भएको छ। उक्त क्षेत्रमा भने वैकल्पिक मार्ग प्रयोग गर्न सकिने व्यवस्था रहेको जनाइएको छ।
भोजपुरस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण सवारी साधन एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ।
बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै प्रशासनले केही राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा अस्थायी प्रतिबन्धसमेत लगाएको छ।
वि.पि. राजमार्ग अन्तर्गत काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन रोकिएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्थाअनुसार सवारी सञ्चालन गर्न दिइनेछ।
त्यसैगरी, मकवानपुरको हेटौँडा–ठिङ्गन–बागमती हुँदै ललितपुर जोड्ने कान्ति लोकपथमा पनि सम्भावित बाढी र पहिरोको जोखिमका कारण राति ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ।
प्रहरीले वर्षायाममा सडकको अवस्था जुनसुकै बेला बदलिन सक्ने भएकाले यात्रा गर्नुअघि सम्बन्धित प्रहरी कार्यालय वा ट्राफिक कन्ट्रोल कक्षबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।




