काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहलाई कुनै पनि परिस्थितिमा अवरुद्ध हुन नदिन सबै स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ।
मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनहरूमा चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थासँग सम्बन्धित कुटपिट र दुर्व्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायहरूले आवश्यक प्रक्रिया अघि बढाइरहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयका अनुसार स्वास्थ्य सेवा अत्यन्त संवेदनशील, जीवनरक्षक तथा अत्यावश्यक सेवा भएकाले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार कुनै पनि अवस्थामा प्रभावित हुन नहुने उल्लेख गरिएको छ। साथै स्वास्थ्यकर्मीले सुरक्षित, सम्मानजनक र मर्यादित वातावरणमा सेवा प्रदान गर्न पाउनु उनीहरूको अधिकार मात्र नभई समग्र समाजको साझा दायित्व भएको पनि विज्ञप्तिमा उल्लेख छ।
स्वास्थ्य सेवाको संवेदनशीलता, चिकित्सा पेसाको गरिमा तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै बिरामीको उपचारमा कुनै अवरोध नआउने वातावरण कायम गर्न मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई निरन्तर स्वास्थ्य सेवा सञ्चालन गर्न अनुरोध गरेको छ।
त्यसैगरी स्वास्थ्य सेवा सञ्चालनलाई सहज, प्रभावकारी र निरन्तर बनाउन आवश्यक सहयोग, समन्वय र सहजीकरणका लागि सम्बन्धित सबै सरकारी तथा गैरसरकारी निकायसँग पनि मन्त्रालयले अपिल गरेको छ।
मन्त्रालयले अन्त्यमा “स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा प्रवाहमा सबैले सहयोग गरौं” भन्ने सन्देश दिँदै नागरिकको जीवन र स्वास्थ्यलाई सर्वोच्च प्राथमिकतामा राख्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ।




