हेटौंडा, १६ साउन (२०८३)।
देशका विभिन्न स्थानमा पछिल्ला दिनमा देखिएका असहज घटनापछि सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी भाइचारालाई थप सुदृढ बनाउने उद्देश्यले मकवानपुरको हेटौंडामा आज अपराह्न बृहत् सद्भाव र्याली आयोजना गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमा शुक्रबार सम्पन्न सर्वपक्षीय बैठकले अपराह्न ४ बजे हेटौंडा–४ स्थित हुप्राचौरबाट र्याली सुरु गर्ने निर्णय गरेको हो। र्यालीमा राजनीतिक दल, उद्योगी–व्यवसायी, नागरिक समाज, विभिन्न सामाजिक संघसंस्था तथा धार्मिक एवं जातीय समुदायका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले देशका केही जिल्लामा भएका दुःखद घटनाबाट उत्पन्न परिस्थितिप्रति सजग रहँदै हेटौंडाको लामो समयदेखिको सामाजिक सद्भाव, सहिष्णुता र एकताको परम्परालाई अझ सशक्त बनाउन यो पहल गरिएको जानकारी दिएका छन्। उनका अनुसार, सबै समुदायबीच आपसी विश्वास, सम्मान र सहकार्य कायम राख्नु वर्तमान समयको प्रमुख आवश्यकता हो।
सर्वपक्षीय बैठकले समाजमा साम्प्रदायिक वैमनस्य फैलाउने, सामाजिक सद्भाव भङ्ग गर्ने तथा सामाजिक सञ्जालमार्फत मिथ्या सूचना, अफवाह वा भ्रमपूर्ण सामग्री प्रसारण गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने निर्णयसमेत गरेको छ। प्रशासनले सबै नागरिकलाई जिम्मेवार, संयमित र सत्यतथ्यमा आधारित सूचना मात्रै साझा गर्न आग्रह गरेको छ।
र्यालीका आयोजकहरूले सम्पूर्ण हेटौंडावासीलाई शान्ति, सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा ऐक्यबद्धता जनाउँदै स्वतःस्फूर्त रूपमा सहभागी हुन हार्दिक अपिल गरेका छन्। उनीहरूले विविधताबीचको एकता नै नेपाली समाजको सबैभन्दा ठूलो शक्ति भएकाले त्यसको संरक्षण र प्रवर्द्धनमा सबैको साझा भूमिका आवश्यक रहेको बताएका छन्।




