काठमाडौं, साउन १७। काठमाडौं महानगरपालिका–गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा विभिन्न प्रकृतिका १४ वटा पसल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। प्रारम्भिक अनुसन्धानअनुसार काठको गोदाममा भएको विद्युत् सर्ट (करेन्ट सर्ट) का कारण आगलागी सुरु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार राति करिब ९:१५ बजे रवीन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम तथा सटरबाट सुरु भएको आगो तीव्र रूपमा फैलिँदै आसपासका पसलहरूमा पुगेको थियो। आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीयवासी तथा सम्बन्धित निकायको संयुक्त प्रयासमा ९ वटा दमकल र ३ वटा पानी ट्याङ्की परिचालन गरिएको थियो। करिब ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।
आगलागीका कारण फर्निचर, मोबाइल, कस्मेटिक, हेल्मेट, अटो रिकन्डिसन, हार्डवेयर, किराना, स्टेशनरी, मिठाईलगायतका व्यवसाय सञ्चालन भइरहेका १४ वटा पसलमा ठूलो क्षति पुगेको छ। क्षतिको यकिन विवरण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ।
आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९ का ३७ वर्षीय नरेश थापा घाइते भएका छन्। उनी आगो नियन्त्रणमा सहयोग गरिरहेका बेला लडेर घाइते भएका हुन्। प्रारम्भिक उपचार मुलपानी नगर अस्पतालमा गरिएपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ।
आगलागीबाट क्षति पुगेका पसलहरू
- ओम काष्ठ मिल उद्योग
- रिकन्डिसन तथा हेल्मेट पसल
- बासु फर्निचर पसल
- घिसिङ अटो रिकन्डिसन
- रङ पसल
- प्रेम गौतम रिकन्डिसन
- मोबाइल पसल
- हार्डवेयर पसल
- मिठाई पसल
- चिया पसल
- हिमेश गौतमको फर्निचर पसल
- चटपटे तथा किराना पसल
- कस्मेटिक पसल
- स्टेशनरी पसल
प्रहरीले आगलागीको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। साथै, आगलागीबाट भएको आर्थिक क्षतिको यकिन विवरण संकलन गर्ने कार्य जारी रहेको छ।




