इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित, होर्मुज स्ट्रेट खुलाउने सहमतितर्फ अमेरिका–इरान

काठमाडौं, १७ साउन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको घोषणा गरेका छन्। इरान तथा मध्यपूर्वका केही राष्ट्रहरूको आग्रहपछि दुवै पक्षबीच प्रारम्भिक कूटनीतिक समझदारी बनेकाले सैन्य कारबाही रोकिएको ट्रम्पले बताएका हुन्।

सामाजिक सञ्जाल ट्रुथ सोसल मा ट्रम्पले अमेरिका आवश्यक परे दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो सैन्य शक्ति परिचालन गर्न तयार रहेको उल्लेख गर्दै कूटनीतिक समाधानलाई अवसर दिन आक्रमण स्थगित गरिएको बताएका छन्।

उनका अनुसार प्रारम्भिक समझदारीमा होर्मुज स्ट्रेटलाई तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउने तथा इरानको आणविक कार्यक्रमसँग सम्बन्धित सुरक्षा जोखिम अन्त्य गर्ने विषयमा सहमतिको खाका तयार भएको छ। अन्तिम सम्झौता हुने अपेक्षासहित सैन्य आक्रमण रोकिएको र यस निर्णयमा इजरायल पनि अमेरिकासँग सहमत रहेको ट्रम्पको दाबी छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सम्भावित युद्ध टार्न साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले ट्रम्पसँग टेलिफोन संवाद गर्दै संयम अपनाउन आग्रह गरेका थिए।

अमेरिकी विदेशमन्त्री : सैन्य दबाबले इरान वार्तामा आयो

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फक्स न्युजसँगको अन्तर्वार्तामा अमेरिकी सैन्य दबाबकै कारण इरान वार्तामा आउन बाध्य भएको दाबी गरेका छन्।

उनका अनुसार अमेरिकी कारबाहीबाट इरानको नौसेना, वायुसेना, मिसाइल प्रतिरक्षा प्रणाली तथा हतियार उत्पादन पूर्वाधारमा ठूलो क्षति पुगेको छ। यद्यपि इरानसँग अझै मिसाइल र ड्रोन क्षमता कायम रहेकाले जोखिम पूर्ण रूपमा समाप्त भइनसकेको उनको भनाइ छ।

रुबियोले परम्परागत सैन्य क्षमता कमजोर बन्दै गएपछि इरानले आणविक निःशस्त्रीकरण र होर्मुज स्ट्रेट सञ्चालनबारे वार्तामा सकारात्मक संकेत देखाएको बताएका छन्।

इरानको आरोप : अमेरिकाको दोहोरो नीति

ट्रम्पको घोषणाअघि नै इरानी अधिकारीहरूले अमेरिकाले सार्वजनिक रूपमा युद्धको चेतावनी दिने तर गोप्य रूपमा वार्ताको पहल गर्ने “दोहोरो नीति” अपनाएको आरोप लगाएका थिए।

इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका प्रवक्ता हसन घस्कवीले सञ्चारमाध्यममा तनाव बढाउने अभिव्यक्ति दिइए पनि पर्दापछाडि वार्ताको प्रस्ताव आइरहेको बताएका छन्। उनले होर्मुज स्ट्रेटबाट हुने जहाज आवतजावत इरानको व्यवस्थापनअनुसार सञ्चालन हुने स्पष्ट पारे।

त्यस्तै, इरानी सांसद इब्राहिम रेजाईले इरानमाथि कुनै पनि प्रकारको सैन्य आक्रमण भए त्यसको जवाफ फारसको खाडीमा मात्र सीमित नरहने चेतावनी दिएका छन्।

इरान–चीन चेम्बर अफ कमर्सका अध्यक्ष मजिदरेजा हरिरीले देशभर रहेका १५० भन्दा बढी विद्युत् उत्पादन केन्द्रका कारण हवाई आक्रमणबाट सम्पूर्ण देशलाई अन्धकारमा धकेल्न सम्भव नहुने दाबी गरेका छन्।

तनाव अझै कायम

सुरक्षा विश्लेषकहरूका अनुसार गत जुन महिनामा भएको प्रारम्भिक समझदारीमा होर्मुज स्ट्रेटको व्यवस्थापन र नियन्त्रणबारे स्पष्ट व्यवस्था नभएकाले पछिल्लो तनाव उत्पन्न भएको थियो। औपचारिक र स्पष्ट सम्झौता नभएसम्म क्षेत्रीय तनाव पूर्ण रूपमा अन्त्य हुने सम्भावना कम रहेको उनीहरूको विश्लेषण छ।

पश्चिम एसियामा सैन्य गतिविधि जारी

कूटनीतिक प्रयास जारी रहे पनि पश्चिम एसियामा सैन्य गतिविधि भने रोकिएको छैन।

अमेरिकाले इजरायलस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा थप १० वटा इन्धन भर्ने (रिफ्युलिङ) सैनिक विमान पठाएको छ। यसअघि नै त्यहाँ ३० भन्दा बढी यस्ता विमान तैनाथ रहेको जनाइएको छ।

उत्तरी इराकको सुलेमानियाहस्थित कुर्दिस पेसमर्गाको ७०औँ ब्रिगेड मुख्यालयलाई लक्षित गरी भएको ड्रोन आक्रमणपछि ठूलो आगलागी भएको छ।

यसैबीच, गाजाको देइर अल–बलाह र गाजा सिटीमा इजरायली सेनाले गरेका पछिल्ला आक्रमणमा कम्तीमा पाँच जना प्यालेस्टिनीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यद्यपि अमेरिका र इरानबीच कूटनीतिक संवाद सकारात्मक दिशातर्फ अघि बढेको दाबी गरिए पनि औपचारिक सम्झौता सम्पन्न नभएसम्म पश्चिम एसियाको सुरक्षा अवस्था संवेदनशील नै रहने विश्लेषकहरूको भनाइ छ।

(अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा)

 

प्रतिक्रिया
सम्बन्धित खबर