काठमाडौं, साउन १९ । संघीय संसद् प्रतिनिधि सभाको दोस्रो अधिवेशनअन्तर्गत आज (मंगलबार) बस्ने बैठकमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको स्थायी व्यवस्थापनको विषय प्रमुख एजेण्डाका रूपमा प्रस्तुत हुने भएको छ।
प्रतिनिधि सभाको बैठक बिहान ११:०० बजे बस्ने सम्भावित कार्यसूचीअनुसार बैठकमा दुई महत्वपूर्ण विषयमाथि छलफल हुनेछ। पहिलो कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सविता गौतमले आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/०८२) प्रतिनिधि सभामा पेश गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, बैठकको दोस्रो कार्यसूचीअन्तर्गत सांसद भीमराज आङ्देम्बेले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी उनीहरूको संरक्षण र स्थायी पुनःस्थापनासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नेछन्।
प्रस्तावमा वास्तविक भूमिहीन र सुकुम्बासीलाई सुरक्षित आवास, आधारभूत सेवा, खाद्य सुरक्षा, स्वास्थ्य, शिक्षा तथा जीविकोपार्जनका अवसर सुनिश्चित गर्न सरकारलाई आवश्यक नीतिगत तथा व्यावहारिक व्यवस्था गर्न आग्रह गरिएको छ। साथै, प्रभावित नागरिकलाई उचित क्षतिपूर्ति उपलब्ध गराउँदै स्थायी पुनःस्थापनाको प्रत्याभूति दिलाउन र वास्तविक लाभग्राहीलाई यथाशीघ्र लालपुर्जा वितरण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
उक्त जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई सांसद ऐनबहादुर महर, युवराज दुलाल र आरेन राईले समर्थन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
भूमिसम्बन्धी समस्या समाधान, वास्तविक सुकुम्बासीको अधिकार सुनिश्चित गर्ने तथा दीर्घकालीन पुनःस्थापनाको विषयमा सरकारको धारणा र आगामी कार्ययोजनाबारे संसदमा हुने छलफललाई विशेष चासोका साथ हेरिएको छ।




