सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ भने उकालो लाग्यो

काठमाडौं, १९ साउन । स्थानीय बजारमा मंगलबार सुनको मूल्य सामान्य रूपमा घटेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ८३ हजार ८ सय कायम गरिएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु २०० ले कम हो। सोमबार सुनको मूल्य प्रतितोला रु २ लाख ८४ हजार रहेको थियो।

यस्तै, गत मंगलबारको तुलनामा पनि सुनको मूल्य रु ४०० ले घटेको देखिएको छ। त्यसबेला सुन प्रतितोला रु २ लाख ८४ हजार २ सय मा कारोबार भएको थियो।

उता, चाँदीको मूल्य भने मंगलबार बढेको छ। अघिल्लो दिन प्रतितोला रु ४ हजार ३५० रहेको चाँदी आज रु ३० ले वृद्धि हुँदै प्रतितोला रु ४ हजार ३८० कायम भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आउने उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा स्थानीय बजारको माग–आपूर्तिको अवस्थाअनुसार नेपालमा सुनचाँदीको मूल्य दैनिक रूपमा निर्धारण हुँदै आएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर