काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती र गण्डकीका केही स्थान तथा कोशी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी भूभाग र लुम्बिनीको पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै, राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका साथै बागमतीको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले सम्भावित भारी वर्षाका कारण पहिरो, बाढी तथा डुबानको जोखिम हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।




