काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारलाई प्रश्न उठाएकै कारण आफूविरुद्ध साइबर बुलिङ र चरित्र हत्या गरिएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले कर्णालीका जनताको समस्या उठाएपछि सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर मदिरा सेवन र अश्लील भिडियोसम्बन्धी भ्रम फैलाइएको दाबी गरे।
यस्ता सामग्री प्रसार गर्नेको अनुसन्धान गरी कारबाही गर्न सरकारसँग माग गर्दै शाहीले प्रतिपक्षको काम सरकारलाई प्रश्न गर्ने र खबरदारी गर्नु रहेको बताए।
‘प्रतिपक्ष हामी विरोधी होइनौँ, तपाईंका सहयात्री हौँ,’ उनले भने।
सरकार ढाल्ने खेलमा आफूहरू नरहेको भन्दै उनले जनताले निर्वाचित गरेको सरकार पाँच वर्ष टिकेर काम गरोस् र प्रतिपक्षको आवाज पनि सुनियोस् भन्ने चाहना रहेको बताए।




