काठमाडौं, २७ साउन — आज देशभर विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। यस वर्षको दिवस ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने मूल नाराका साथ मनाउन लागिएको हो। युवाको भूमिका, नेतृत्व, उद्यमशीलता तथा नीति निर्माणमा उनीहरूको सहभागितालाई थप सशक्त बनाउने उद्देश्यले हरेक वर्ष अगस्ट १२ मा यो दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००० देखि यो दिवस विश्वभर मनाउने परम्परा रहँदै आएको छ।
अन्तर्राष्ट्रिय युवा दिवसको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहसलाई प्रोत्साहन गर्नु, नीति निर्माण र कार्यान्वयन प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु तथा युवा क्षेत्रमा साझेदारी र लगानी अभिवृद्धि गर्नु हो। साथै, युवामैत्री शासन प्रणालीको प्रवर्द्धन गर्दै सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबीच सहकार्य विस्तार गर्ने लक्ष्य पनि यस दिवसले बोकेको छ।
दिवसको अवसरमा आज काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा विशेष समारोह आयोजना गरिएको छ। कार्यक्रममा सूचना प्रविधि तथा स्टार्टअप व्यवसायसम्बन्धी प्रदर्शनी, युवा जागरण दौड तथा ‘नेपालमा युवा उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ विषयमा उच्चस्तरीय प्यानल छलफल हुने कार्यक्रम रहेको छ। बिहान भृकुटीमण्डपदेखि कमलादीसम्म युवा जागरण दौड पनि आयोजना गरिएको छ।
यस अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारअन्तर्गत उत्कृष्ट छ वटा व्यवसायलाई सम्मान गरिनेछ। साथै, सातै प्रदेशका उत्कृष्ट युवा उद्यमीलाई पनि पुरस्कृत गर्ने कार्यक्रम तय गरिएको छ।
राष्ट्रिय युवा परिषद्का अध्यक्ष तथा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा साउन १ गते बसेको बैठकले यस वर्ष अन्तर्राष्ट्रिय युवा दिवसलाई भव्य रूपमा मनाउने निर्णय गरेको थियो।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका १ करोड २४ लाख १२ हजार १७३ युवा रहेका छन्, जुन कुल जनसंख्याको ४२.५६ प्रतिशत हो। ऊर्जा, सिर्जनशीलता र नेतृत्व क्षमताले भरिएको यो उमेर समूहलाई राष्ट्र निर्माणको प्रमुख शक्ति मानिन्छ।
अन्तर्राष्ट्रिय युवा दिवसले सांस्कृतिक, भौगोलिक, भाषिक, शारीरिक तथा प्रविधिजन्य विविधताबीच एकता, सहकार्य र साझा विकासको सन्देश प्रवाह गर्दै युवालाई समावेशी र समृद्ध समाज निर्माणमा अग्रसर हुन प्रेरित गर्ने अपेक्षा गरिएको छ.




