शेरबहादुर देउवा आज स्वदेश फर्किंदै, कांग्रेसको इतर समूहले भव्य स्वागत गर्ने

काठमाडौं, २८ साउन — नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा झन्डै छ महिनापछि आज स्वदेश फर्किंदै छन्। कांग्रेसको संस्थापन इतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित उनको भव्य स्वागत गर्ने तयारी गरेको छ।

इतर समूहले राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक समिति संयोजक विद्या तिमिल्सिनाका अनुसार देउवाको स्वागतमा विभिन्न सांस्कृतिक झाँकी र बाजागाजासहित विशेष कार्यक्रम आयोजना गरिनेछ।

कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा बिहीबार मध्याह्न १२:३० बजे थाई एयरवेजको उडानमार्फत काठमाडौं आइपुग्ने कार्यक्रम छ।

जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा घाइते भएपछि देउवा उपचारका लागि गत १३ फागुनमा सिंगापुर गएका थिए। त्यसपछि ७ चैत २०८२ मा थप उपचारका लागि हङकङ पुगेका थिए।

स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम रहेको छ। प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार उद्घाटन समारोह शुक्रबार दिउँसो १ बजे सुरु हुनेछ।

तीन दिनसम्म सञ्चालन हुने उक्त राष्ट्रिय भेलामा देशभरबाट करिब पाँच हजार नेता तथा कार्यकर्ताको सहभागिता रहने इतर समूहले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर