धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि रु २ अर्ब ७६ करोड १९ लाख २७ हजार बराबरको बजेट पारित गरेको छ। बिहीबार सम्पन्न १९औँ नगरसभाले सडक तथा भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी तथा विपद् व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राख्दै बजेट स्वीकृत गरेको हो।

कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले प्रस्तुत गरेको बजेटअनुसार नगर कार्यपालिकाका लागि रु २ अर्ब ४७ करोड ४८ लाख ३३ हजार तथा २० वटा वडा कार्यालयका लागि रु २८ करोड ७० लाख ९४ हजार विनियोजन गरिएको छ।
राजस्व व्यवस्थापनतर्फ आन्तरिक स्रोतबाट रु १ अर्ब ४० करोड ९४ लाख ८८ हजार संकलन हुने अनुमान गरिएको छ। यसका साथै सङ्घीय सरकारबाट रु ८६ करोड १९ लाख, प्रदेश सरकारबाट रु ९ करोड १६ लाख ४८ हजार, राजस्व बाँडफाँटबाट रु ३२ करोड ८८ लाख ९१ हजार, सडक बोर्डबाट रु १ करोड तथा गत वर्षको मौज्दातबाट रु ७ करोड प्राप्त हुने अपेक्षा गरिएको छ।
भौतिक पूर्वाधार विकासका लागि रु ९९ करोड ५० लाख विनियोजन गरिएको छ। यसअन्तर्गत ‘खाल्डाखुल्डीमुक्त धरान’ अभियानका लागि रु ४ करोड, भानुचोक सौन्दर्यीकरण तथा स्थायी स्टेज निर्माणका लागि रु १ करोड र सभागृह निर्माणका लागि रु २ करोड छुट्याइएको छ।
स्वास्थ्य क्षेत्रका लागि रु १२ करोड ४५ लाख बजेट विनियोजन गरिएको छ। यसमध्ये सशर्त अनुदानबाट रु ९ करोड ३३ लाख, धरान अस्पताल सञ्चालनका लागि रु २ करोड तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने कार्यक्रमका लागि रु ५० लाख छुट्याइएको छ।
शिक्षा, युवा तथा खेलकुद क्षेत्रका लागि रु ४९ करोड ८६ लाख ८२ हजार विनियोजन गरिएको छ। यस बजेटबाट शैक्षिक गुणस्तर सुधार, खेलकुद गतिविधि सञ्चालन तथा एक सामुदायिक विद्यालयलाई स्कुल बस उपलब्ध गराउने कार्यक्रम कार्यान्वयन गरिनेछ।
सामाजिक विकासतर्फ आन्तरिक स्रोतबाट रु १० करोड विनियोजन गरिएको छ। सुकुम्बासी व्यवस्थापनका लागि रु ५० लाख, सिटी सफारी तथा ट्याम्पो चालक दुर्घटना सहयोग कोषका लागि रु २० लाख, सडक मानव व्यवस्थापन, खेलकुद प्रवर्द्धन तथा बाँदर नियन्त्रणका लागि रु १० लाख, विपन्न परिवारका सदस्यको दाहसंस्कार साझेदारी कार्यक्रमका लागि रु १० लाख तथा लैङ्गिक समानता र समावेशीकरण कार्यक्रमका लागि रु १ करोड ५ लाख छुट्याइएको छ।
आर्थिक विकासका लागि रु ६ करोड ८० लाख विनियोजन गरिएको छ, जसअन्तर्गत सङ्कटग्रस्त सहकारी व्यवस्थापनका लागि मात्र रु ५ करोड छुट्याइएको छ। वन, वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापनका लागि रु ३ करोड ९५ लाख ७५ हजार विनियोजन गरिएको छ भने विपद् व्यवस्थापन कोषका लागि रु २ करोड व्यवस्था गरिएको छ। कानुन तथा न्याय सम्पादनका लागि रु २० लाख बजेट विनियोजन गरिएको छ।
यस्तै, चतरा–कोशी नदीबाट धरानमा खानेपानी आपूर्ति गर्ने नेपाल सरकारको योजनामा साझेदारी गर्न आन्तरिक स्रोतबाट रु ३ करोड ११ लाख विनियोजन गरिएको कार्यवाहक नगरप्रमुख बेघाले जानकारी दिए।
समग्रमा, यस वर्षको बजेटले पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार, सुरक्षित खानेपानी, सामाजिक सुरक्षा तथा आर्थिक गतिविधिलाई सन्तुलित रूपमा प्राथमिकता दिएको नगरपालिकाले जनाएको छ।




