उजुरीका आधारमा कसैलाई दोषी ठहर गर्न नमिल्ने गृहमन्त्री गुरुङको भनाइ, सांसद सुनारको अभिव्यक्तिप्रति आपत्ति

काठमाडौं, २९ साउन — गृहमन्त्री सुधन गुरुङले प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीलाई आधार बनाएर सम्बन्धित अधिकारीलाई दोषी ठहर गर्ने शैली उचित नभएको बताएका छन्।

सार्वजनिक लेखा समितिको बैठकमा रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षकसहित सम्बन्धित अधिकारीमाथि नैतिकताको प्रश्न उठाएको विषयमा प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङले उजुरीका आधारमा कसैलाई न्यायाधीशको भूमिकामा पुगेर निष्कर्ष निकाल्न नहुने बताएका हुन्।

उनले भने, “अस्ति म समितिको बैठकमा उपस्थित थिइनँ। मेरो अनुपस्थितिमा सचिवज्यू, सहसचिवज्यू र प्रहरी प्रमुखप्रति जुन प्रकारको व्यवहार प्रस्तुत गरियो, त्यसप्रति गृहमन्त्रीको ध्यानाकर्षण भएको छ। यो सही होइन, यो राम्रो अभ्यास पनि होइन।”

गृहमन्त्री गुरुङले कुनै पनि विषयमा अनुसन्धान र कानुनी प्रक्रियालाई निष्पक्ष रूपमा अघि बढ्न दिनुपर्ने उल्लेख गर्दै, प्रमाण र तथ्यका आधारमा मात्रै निष्कर्षमा पुग्नुपर्ने धारणा व्यक्त गरे।

यसअघि सांसद खगेन्द्र सुनारले प्रहरीको पोसाक तथा अन्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको आशंका व्यक्त गर्दै सम्बन्धित निकायको जवाफदेहितामाथि प्रश्न उठाएका थिए।

प्रतिक्रिया
सम्बन्धित खबर