सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठकमा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई निर्देशन (रूलिङ) दिएका छन्।

सोमबार प्रतिनिधि सभा बैठक सुरु हुनेबित्तिकै सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्रीलाई संसदमा उपस्थित भई सांसदहरूको जिज्ञासाको जवाफ दिन निर्देशन दिएका हुन्।

सभामुखले प्रतिनिधि सभा नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गरिएको भन्दै नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देश गरेका बताए।

सभामुखको रूलिङलाई विपक्षी दलका सांसदहरूले समर्थन जनाएका थिए। साथै, प्रधानमन्त्रीलाई निर्देशन दिइसकिएको उल्लेख गर्दै सभामुखले विपक्षी दललाई बैठक सञ्चालनमा सहयोग गर्न पनि आग्रह गरे।

प्रतिनिधि सभा नियमावलीअनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री संसदमा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर