कोलकाताको होटलमा भीषण आगलागी : ९ बंगलादेशी नागरिकको मृत्यु, ६ जना गम्भीर घाइते

भारतको कोलकातास्थित एक होटलमा बुधबार बिहान भएको भीषण आगलागीमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्। मृत्यु हुने सबै बंगलादेशी नागरिक रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

आगलागी कोलकाताको मिर्जा गालिब स्ट्रिटमा रहेको एक होटलमा बिहान करिब २ बजे भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अधिकांश पाहुना निदाइरहेका बेला आगलागी सुरु भएपछि होटलभरि अफरातफरी मच्चिएको थियो। केही समयमै आगोले विकराल रूप लिएपछि बाक्लो धुवाँ र आगोको लप्काले उद्धार कार्यमा समेत कठिनाइ उत्पन्न गरेको थियो।

घटनाको जानकारी पाएलगत्तै प्रहरी र दमकलका धेरै टोली घटनास्थलमा पुगेका थिए। लामो प्रयासपछि दमकलकर्मीले आगो पूर्ण रूपमा नियन्त्रणमा लिएर उद्धार तथा राहत कार्य सञ्चालन गरेका थिए। बाक्लो धुवाँका कारण होटलका माथिल्ला तलासम्म पुग्न निकै चुनौतीपूर्ण भएको बताइएको छ।

प्रारम्भिक जानकारीअनुसार मृत्यु हुने ९ जना बंगलादेशी नागरिक उपचारका लागि कोलकाता पुगेका थिए। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन। प्रहरीले फरेन्सिक टोलीको सहयोगमा घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।

उल्लेखनीय रूपमा, यसअघि सोमबार पनि भारतको पश्चिम बंगालस्थित बीरभूम जिल्लाको एक चारतले होटलमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित खबर