बंगलादेशको राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम आलमगीर निर्वाचित

काठमाडौं, ५ भदौ — बंगलादेशको संसद्ले मिर्जा फखरुल इस्लाम आलमगीरलाई देशको २३औँ राष्ट्रपतिमा निर्वाचित गरेको छ। करिब ३५ वर्षपछि प्रत्यक्ष मतदानमार्फत सम्पन्न राष्ट्रपतिको निर्वाचनमा सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का उम्मेदवार आलमगीरले २५५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी अवकाशप्राप्त कर्णेल ओली अहमदले ८८ मत प्राप्त गरेका थिए।

बीएनपीका वरिष्ठ नेता आलमगीर पूर्वप्रधानमन्त्री शेख हसिनाका प्रमुख राजनीतिक प्रतिद्वन्द्वीका रूपमा परिचित छन्। सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि शेख हसिना सत्ताबाट बाहिरिएकी थिइन् र हाल भारतमा बसोबास गरिरहेकी छन्। बंगलादेश सरकारले भारतसँग उनको प्रत्यर्पणको औपचारिक मागसमेत गरिसकेको छ।

कठिन राजनीतिक परिस्थितिमा बीएनपीको नेतृत्व गर्दै आएका आलमगीर विभिन्न समयमा पक्राउसमेत परेका थिए। उनको राजनीतिक अनुभव र नेतृत्व क्षमताका कारण उनी राष्ट्रपतिको जिम्मेवारीमा पुगेका हुन्।

बंगलादेशमा राष्ट्रपतिको पद हालसम्म मुख्यतः औपचारिक मानिए पनि प्रस्तावित संवैधानिक सुधारमार्फत यस पदलाई थप अधिकार सम्पन्न बनाउने तयारी भइरहेको बताइएको छ। यसले देशका प्रमुख राजनीतिक नेतृत्वबीच शक्ति सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर