काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँ रहेको थियो।
सुनको मूल्य लगातार उकालो लाग्दै गएको छ। गत सोमबार प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ एक सातामै १५ हजार ९ सय रुपैयाँले वृद्धि भएको महासंघको तथ्यांकले देखाएको छ।
यता, चाँदीको मूल्य भने सामान्य घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँ रहेको चाँदी सोमबार १० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। गत सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँ रहेको थियो।




