काठमाडौं, ९ भदौ — प्रतिनिधिसभाको मंगलबार दिउँसो १ बजे बस्ने तय भएको बैठक विशेष कारणवश स्थगित भएको छ।
संघीय संसद् सचिवालयका अनुसार सिंहदरबारमा बस्ने भनिएको बैठक विशेष कारणले स्थगित गरिएको हो। अब प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो। साथै, उहाँले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम पनि तय गरिएको थियो।
यस्तै, ‘संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता’ पनि बैठकमा प्रस्तुत गर्ने कार्यसूची थियो।
बैठक स्थगित भएसँगै आजका सबै कार्यसूची आगामी बैठकमा सारिएको संघीय संसद् सचिवालयले जनाएको छ।




