काठमाडौं : विनाशकारी बाढीपछि चितवनका विभिन्न स्थानबाट संकलन गरिएका पहिचान हुन नसकेका २२९ शव तथा शवका अवशेषको आज सम्मानजनक रूपमा भू–व्यवस्थापन (जमिनमुनि गाड्ने) गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार जारी गरेको सूचनाअनुसार हालसम्म २३३ शव संकलन गरिएकोमा चार शवको मात्र पहिचान भएको छ। बाँकी २२९ शव तथा शवका अवशेष अत्यधिक सडेगलेको अवस्थामा पुगेकाले स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै सामूहिक रूपमा व्यवस्थापन गर्न लागिएको हो।
प्रशासनका अनुसार अस्पताल, होल्डिङ सेन्टर तथा नदी किनारबाट संकलन गरिएका शवहरू अब पहिचान गर्न नसकिने अवस्थामा पुगेका छन्। शवबाट दुर्गन्ध फैलिन थालेपछि महामारीको जोखिम बढ्न सक्ने स्वास्थ्य विज्ञहरूको सुझावका आधारमा जिल्ला सुरक्षा समितिको भदौ १३ गतेको निर्णयअनुसार ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम शव व्यवस्थापन गरिने निर्णय गरिएको हो।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार सबै शवको डीएनए नमुना संकलन गरी संकेत नम्बरका आधारमा विस्तृत अभिलेख सुरक्षित राखिनेछ। भविष्यमा आफन्तले खोजी गर्दा आवश्यक परे डीएनए परीक्षणमार्फत पहिचान गर्न सकिने व्यवस्था मिलाइएको उनले बताए।
शवहरू भरतपुर महानगरपालिका–१ स्थित देवघाटको खुला स्थानमा सम्मानजनक, सुरक्षित र स्वास्थ्य मापदण्डअनुसार भू–व्यवस्थापन गरिने प्रशासनले जनाएको छ।
यस निर्णयसँगै आफ्ना आफन्तको खोजीमा रहेका केही पीडित परिवारले शव भेटाएर धार्मिक संस्कारअनुसार अन्त्येष्टि गर्न नपाउने अवस्था सिर्जना भएको भन्दै असन्तुष्टि जनाएका छन्।
प्रशासनले शवको अवस्था, स्वास्थ्य जोखिम तथा बाध्यात्मक परिस्थितिका कारण यस्तो निर्णय लिनुपरेको उल्लेख गर्दै यसबाट पीडित परिवारमा पर्न गएको असुविधाप्रति क्षमायाचना पनि गरेको छ।




