काठमाडौं, १४ भदौ — भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीको बहाव बढेपछि कृष्णभीर क्षेत्रमा काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) का अनुसार त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि सडकको केही हिस्सा भासिएको छ। सुरक्षा जोखिमलाई ध्यानमा राख्दै सडकमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।
आज बिहान केही समयका लागि सञ्चालनमा आएको सडक बाढीको प्रभाव बढेसँगै पुनः पूर्ण रूपमा बन्द गरिएको हो।
सडक अवरुद्ध भएपछि दुवैतर्फका सवारी साधन र यात्रुहरू बीच बाटोमै रोकिएका छन्। सम्बन्धित निकायले सडकको अवस्था निरन्तर अनुगमन गरिरहेको छ भने यात्रुहरूलाई वैकल्पिक मार्ग अपनाउन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।




