काठमाडौँ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण हालसम्म ७३४ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अद्यावधिक विवरणअनुसार बाढीको तीव्र बहावसँगै शवहरू तल्लो तटीय जिल्लासम्म पुगेका छन्।
चितवनमा सबैभन्दा धेरै शव
फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा २५९ जना छन्। जिल्लागत विवरणअनुसार:
- चितवन : २५९ जना
- नवलपरासी पूर्व : १८४ जना
- नवलपरासी पश्चिम : ८२ जना
- गोरखा : ५८ जना
- नुवाकोट : ५२ जना
- धादिङ : ५० जना
- तनहुँ : ३६ जना
- रसुवा : १३ जना
२ हजार ४९८ जना अझै सम्पर्कविहीन
बाढीमा परी अझै २ हजार ४९८ जना सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेमा विभिन्न सुरक्षा निकायका ८५ जना समेत छन्। तीमध्ये नेपाली सेनाका ४५, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना रहेका छन्।
त्यस्तै, विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना कामदार समेत बाढीपछि सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन हुनेमा ५८९ जना विदेशी नागरिक तथा उनीहरूसँगै रहेका १२७ जना नेपाली पर्यटन सहयोगी समेत रहेको विवरणमा उल्लेख छ। स्थानीय प्रशासनका अनुसार रसुवाबाट ५६२ जना र नुवाकोटबाट ११५ जना अझै बेपत्ता छन्।
उद्धारमा झण्डै २० हजार सुरक्षाकर्मी परिचालित
विपद्पछि उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन देशभर १९ हजार ८९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। उद्धार अभियानका क्रममा हालसम्म ८ हजार १८६ जनाको जीवितै उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा अझै पनि बेपत्ताको खोजी, शव संकलन तथा उद्धार कार्य जारी रहेको छ।




