भोटेकोशी बाढीपीडितलाई राहतदेखि सार्वजनिक बिदासम्म : मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय

काठमाडौं, ७ भदौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिक तथा व्यवसायीलाई राहत र पुनर्स्थापनामा सहयोग गर्ने निर्णयसहित मन्त्रिपरिषद् बैठकका ७ महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ।

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको तत्कालीन उद्धार तथा राहतदेखि प्रभावित उद्योग, व्यापार तथा व्यवसाय पुनः सञ्चालनका लागि विभिन्न सहुलियत उपलब्ध गराउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

मन्त्रिपरिषद्का ७ मुख्य निर्णय

१. एडीबीको ५ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने

एसियाली विकास बैंक (एडीबी) बाट भोटेकोशी बाढी प्रभावित नागरिकको जीवनरक्षा तथा तत्कालीन आपतकालीन उद्धार र राहत कार्यका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ।

२. बाढी प्रभावित व्यवसायलाई पुनर्स्थापनामा सहुलियत

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन एकीकृत व्यवसाय पुनर्स्थापना योजनाअन्तर्गत राहत, कर तथा महसुललगायत विभिन्न सहुलियत र सुविधा उपलब्ध गराउने निर्णय भएको छ।

३. २५ हजार मेट्रिक टन चिनी आयात गर्ने

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत कूल २५ हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति प्रदान गरिएको छ। उक्त चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न अनुमति दिइएको छ।

४. उद्धारमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीलाई राहत

भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरिएको छ। उद्धारका क्रममा घाइते भएमा निःशुल्क औषधि उपचारको व्यवस्था गरिनेछ भने मृत्यु भएमा मृतकका परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ।

५. भदौ २३ गते सार्वजनिक बिदा

विसं २०८३ साल भदौ २३ गते जेनजी शहीद दिवसका अवसरमा नेपालभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।

६. भदौ २२ गते राष्ट्रिय शोक मनाइने

विसं २०८३ साल भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रअन्तर्गत रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीमा परी मृत्यु भएका व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्दै घटनाको १३औँ दिन अर्थात् भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरिएको छ।

उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।

७. नारायणप्रसाद भट्टलाई सचिवमा बढुवा तथा पदस्थापन

नेपाल प्रशासन सेवा, समूहिकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा नारायणप्रसाद भट्टलाई बढुवा गर्ने निर्णय गरिएको छ। उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशको मुख्यसचिव पदमा पदस्थापन गर्ने निर्णयसमेत गरिएको छ।

मन्त्रिपरिषद्का यी निर्णयमध्ये अधिकांश भोटेकोशी बाढीबाट प्रभावित नागरिक, व्यवसाय तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवकलाई तत्काल राहत तथा पुनर्स्थापनामा केन्द्रित छन्।

प्रतिक्रिया
सम्बन्धित खबर