मानव बेचबिखनविरुद्ध राष्ट्रिय दिवसमा प्रधानमन्त्रीको सन्देश : ‘मानव बेचबिखनमुक्त समाज निर्माणमा सबैको एक्यबद्धता आवश्यक’

काठमाडौं । प्रधानमन्त्रीले मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियानमा सरकार, प्रदेश तथा स्थानीय तह, गैरसरकारी संस्था, विकास साझेदार र सबै सरोकारवालाबीच निरन्तर सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन्।

मानव बेचबिखनलाई मानव सभ्यताकै कलङ्कका रूपमा उल्लेख गर्दै प्रधानमन्त्रीले प्रविधिको विकाससँगै यसको स्वरूप र गन्तव्यमा समेत परिवर्तन आइरहेकाले नियन्त्रणका लागि प्रविधिको सही प्रयोग र सजगतामा जोड दिएका छन्।

मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसका अवसरमा जारी शुभकामना सन्देशमा उनले पीडितको मानव अधिकार संरक्षण तथा बेचबिखन नियन्त्रणका लागि नेपाल सरकारले नीतिगत र संस्थागत सुधारलाई निरन्तरता दिइरहेको बताएका छन्। साथै, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई समयानुकूल संशोधन गर्न विधेयक संसद्मा दर्ता गरिएको जानकारी पनि दिएका छन्।

प्रधानमन्त्रीले मानव बेचबिखनविरुद्धको अभियानलाई प्रभावकारी बनाउन संघीय सरकारसँगै प्रदेश सरकार, स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार र सम्बन्धित सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताएका छन्।

उनले साझा पहल र संयुक्त प्रयासबाट मात्रै मानव बेचबिखनमुक्त समाज निर्माण गर्न सकिने विश्वास व्यक्त गर्दै यस अभियानमा सबैको साथ, सहयोग र एक्यबद्धताका लागि आह्वान गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर