जकार्ता । इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखीमा शक्तिशाली विस्फोट भएपछि राजधानी जकार्ताको सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा केही घण्टाका लागि पूर्ण रूपमा बन्द गरिएको छ।
ज्वालामुखीबाट निस्किएको बाक्लो खरानीको बादल विमानस्थल आसपासको आकाशमा फैलिएपछि हवाई सुरक्षालाई ध्यानमा राख्दै स्थानीय समयअनुसार बिहान १ः३० बजेदेखि ९ः३० बजेसम्म उडान सेवा रोकिएको हो।
घटनाका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय गरी २०० भन्दा बढी उडान प्रभावित भएका छन् भने करिब २२ हजार ७९८ यात्रु प्रभावित भएको जनाइएको छ।
सिंगापुर, हङकङ, सिड्नी, सियोल, दोहा, एम्स्टर्डम र क्वालालम्पुरतर्फ जाने–आउने उडानहरू समेत प्रभावित भएका छन्। अन्तर्राष्ट्रिय उडानतर्फ १६ उडान रद्द, ७ ढिलाइ र ५ पुनःतालिकीकरण गरिएको अधिकारीहरूले बताएका छन्।
ज्वालामुखीको खरानी जाभातर्फ करिब ६ हजार मिटर र सुमात्रा तथा बान्टेनतर्फ १५ हजार मिटर उचाइसम्म पुगेको बताइएको छ। प्रभावित क्षेत्रमा विद्यालय बन्द गरिनुका साथै स्थानीय माझीहरूलाई समुद्रमा नजान आग्रह गरिएको छ।
प्रशासनले स्थानीय बासिन्दालाई मास्क र चस्मा प्रयोग गर्न तथा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।
हाल तत्काल सुनामीको जोखिम नरहेको अधिकारीहरूले बताएका छन्। तर सन् २०१८ मा यही ज्वालामुखीको विस्फोटपछि आएको विनाशकारी सुनामीका कारण ठूलो जनधनको क्षति भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।




